सहे सानो भइन्छ...
हालै दुई घटना नजिकै घटे।
पहिलो: दसैैं लाग्दैको एक साँझ एक्कासि पल्लो घरमा कोहोलो मच्चियो। रोदन मिश्रित महिला चिच्याहटले झसंग भएँ। पर्दा खोलेर आँखा दौडाएँ। राम्ररी उभिन पनि नसकेको लोग्ने कुर्सी उज्याएर खाटमा उभिएको छ। भुइँमा लडेकी महिला आफ्नो अनुहार हातले छोप्दै चिच्याउँदै छिन्।
एकछिनपछि कुर्सी भुइँमा राखेर स्वास्नीलाई लछारपछार गर्दै केही लात र घुस्सा हानिहाल्छ। कोठा अस्तव्यस्त छ। महिला क्रन्दन बढ्दै जान्छ। वल्लोपल्लो कोठाकाहरू पस्छन् र बाँकी पिटाइबाट जोगाउँछन् उनलाई। लोग्ने खुट्टा र बोली दुवै लर्वर पार्दै चुरोट सल्काएर कोठाबाट बाहिरिन्छन्। निकै बेरसम्म ती महिलाको सुँक्कसुँक्क र साथीहरूसँग साटेको गुनासो कानमा ठोक्किबस्छ।
दोस्रो: चकमन्न रातमा खैलाबैला र हिँडाइको गड्मगड्म आवाजले निद्राबाट ब्युँझिन्छु। मोबाइल हेर्छु बिहानको ३ बजेको छ। लोग्नेमान्छेले तथानाम गाली सुरु गर्छ। महिलाले प्रतिकारमा केही बोलेको सुनिन्छ। त्यसपछि गालीसँगै ती महिलालाई बेस्कन भकुरेको आवाज सुनिन्छ। महिला गुहार भन्दै चिच्याउँछे। सानो केटोको रुवाइसहितको बोली पनि मिसिन्छ, बाबा नकुट्नु। उनीहरूको पदचाप धिमा हुन्छ तर फेरि पनि निकै पटक चिच्याएको सुनिन्छ ती महिला, गुहार गुहार।
यी दुई घटनाले मन खल्लो पारेको छ। महिलामाथि हुने हिंसाका आँखीझ्याले देखाई मात्र हुन् यी दुई घटना। यदि झ्याल पूरै खोली हेर्ने हो भने त कति देखिन्छन् कति त्यस्ता हिंसाहरू। यी दुवै घटनाको प्रकृति लगभग उस्तै छ। अघिल्लोमा लोग्नेले घरभित्र र अर्कोले सडकमै स्वास्नीमाथि हात हाल्दै गालीगलौज गर्दै हिँडेको छ। यी दुवै घटनाले हाम्रो समाजका महिला र पुरुष मानसिकतालाई प्रस्ट पारिदिएको छ जो उनीहरूको हुर्काइसँगै उनीहरूभित्र रोपिएको छ।
पुरुष अहम्
पुरुषको आक्रामक स्वभाव देखिएका माथि उल्लेखित घटना पुरुष अहम्का अभिव्यक्ति हुन्। पुरुष अहम्ले भन्छ ऊ स्वास्नीभन्दा माथिको जीव हो। जसरी पनि स्वास्नीलाई तहमा राख्नुपर्छ। त्यो उसको हुर्काइसँगै ऊभित्र रोपिएको मानसिकता हो।
पुरुषमा यस्तो मानसिकता कसरी उब्जन्छ त ? प्राध्यापक सञ्जीव उप्रेती भन्छन्, ‘लोग्नेमानिसको सामाजिकीकरणकै प्रक्रियामा उनीहरू आक्रामक, डोमिनेटिङ र अरूलाई आफ्नो बसमा राख्न सक्ने हुनुपर्छ भन्ने सिकाइन्छ।’ महिलामाथि हुने हिंसाका अनेकन कारणहरूमध्ये पुरुषको यस खाले सामाजिकीकरण पनि एक हो।
प्राध्यापक उप्रेतीले भनेजस्तै स्वास्नीलाई चुटेरै पनि आफ्नो तहमा राख्नुपर्छ भन्ने सिकाइका सिकार बनेका छन् धेरै पुरुष। त्यो हाम्रो जस्तो सामन्ती पितृसत्तात्मक समाजको विशेषता नै हो। हाम्रो समाजले महिलाप्रतिको पुरुषकोे दृष्टिकोणमा तह लाउनुपर्ने जीव भन्ने नै लिएको छ। स्वास्नी भनेको त आफ्नो अधिकारको वस्तु हो, सम्पत्ति सरह हो। आफ्नो सम्पत्तिलाई मालिकले जे गर्न पनि छुट छ। यही मानसिकताबाट ओतप्रोत छन् अधिकांश पुरुष। यी दुवै घटनामा ती महिला अस्तित्वहीन वस्तुसरह देखिएका छन्।
रक्सीले झुल परेको लोग्नेलाई सम्झाउन खोज्दा चुटिन्छे महिला। रातबिरात सडकमै पनि त्यसरी कुटपिट र अपशब्दको सिकार हुन्छन् उनीहरू। शारीरिक यातना मात्र नभई उनीहरूको आत्मसम्मानमा ठेस लाग्ने खालका गालीगलौज आफैंमा हिंसा हो भन्छिन् वरिष्ठ अधिवक्ता मीरा ढुंगाना। र त्यस्ता हिंसाका लागि कानुनी उपचार पनि छन्। तर ती सब केवल न्यायालयका कानुनी ढड्डामा मात्र सीमित भएझैं लाग्छन्। यहाँ त पाइलापाइलामा महिलाहरू पुरुष अहम्को सिकार छन्।
समस्या हाम्रा छोरीहरूको सिकाइमा छ। उनीहरूलाई आफूमाथिको हिंसाको प्रतिकार गर नभनी निरीह भएर बस भन्ने सिकाइन्छ।
प्रश्न उठ्छ, पुरुषलाई यस्तो मैमत्त हुने छुट कसले दियो ?
निश्चय नै समाजले। पहिलो घटनामा रुँदै गरेकी ती महिलालाई सम्झाउँदै थिए उनका साथीहरू, चाडपर्वमा लोग्नेमान्छे अलि अलि खान्छन् पिउँछन् यस्तो बखेडा गर्नु हुन्न। समाजले यसरी नै चाडबाड लागेको निहुँमा, या अन्य बहानामा स्वास्नीमाथि हातपात गर्ने छुट दिइरहेकै छ। स्वास्नीलाई चुटेरै भए पनि तहमा राख्नुपर्छ भन्ने अहम्मा मलजल गरिरहेकै छ। र त्यही पुरुष (कु) मानसिकताका सिकार भइरहेका छन् महिला।
महिला सिकाइ
हाम्रो समाजमा छोरीको हुर्काइको तरिका फरक छ। अलि बुझ्ने उमेरको भएपछि नै उनीहरू दाजुभाइभन्दा फरक हुन् भन्ने आभास दिलाइन्छ। उनीहरूले गर्न हुने र नहुने लामै सूची रटाइन्छ। छोरीले लोग्नेको घर जानुपर्ने भएकोले बारम्बार सम्झाइन्छ– घर गरी खान सहनुपर्छ। त्यसैसँग मिल्दो भनाइ पनि तयार छ, सहेर सानो भइन्न।
हुर्काइसँगै रोपिएको सहनुपर्छ भन्ने मानसिकताकै उपज हुन् माथि उल्लेखित घटनामा ती महिलाहरूको निरीहपना। लोग्नेले चुट्दा ऊ रुँदै चुटाइ थापिबस्छे। बढीमा चिच्याउँछे, गुहार माग्छे। आफूमाथि प्रहार भइरहेको हातलातको प्रतिकार गर्नै सक्दिन। पहिलो कुरो सहनुपर्छ भन्ने मानसिकताले थिचेको छ उनीहरूलाई भने अर्को कुरा लोग्नेको मान राख्नुपर्छ भन्ने अर्को जब्बर मानसिकताले पनि न्याकेको छ।
लोग्नेलाई समाजले एक तह माथि राखिदिएको छ। ऊ मालिक हो, स्वामी हो घरको। त्यसैले उसको मानमनितो राख्नुपर्छ। मालिकले थोरबहुत गाली बोली गर्दा सहनुपर्छ। हातै हाले पनि सहनु र्छ स्वास्नीले। किनकि लोग्नेलाई हात फर्काउनु त परै जाओस् मुख फर्काउँदा पनि मान नराखेको ठहरिन्छ। त्यसैले लोग्नेले तथानाम गाली फलाक्दै भकुरे पनि अधिकांश स्वास्नीहरू सही बस्छन्।
समस्याको गाँठो यही छ। समस्या हाम्रा छोरीहरूको सिकाइमा छ। उनीहरूलाई आफूमाथिको हिंसाको प्रतिकार गर नभनी निरीह भएर बस भन्ने सिकाइन्छ। सहनु भनेकै सबै कुरा चुपचाप स्वीकार्नु भन्ने नै हो। चाहे त्यो गाली बेइज्जती होस् या कुटाइ नै। छोरीको हुकाईसँगै उनीहरूमा रोपिएको सहनु भन्ने जड मानसिकताकै सिकार छन् आज पनि उनीहरू।
हाम्रा उखान, भनाइहरू सच्याउनुपर्ने समय भएको छ। छोरीहरूलाई सहेर सानो भइन्न को साट्टो सहे सानो भइन्छ भनी सिकाउन जरुरी छ। सहे हिंसाको सिकार भइन्छ त्यसैले बोल, आवाज उठाऊ भन्ने बेला भएन र ?