अपूरो सडक रक्षामन्त्रीबाट उद्घाटन गर्न लागेपछि डोल्पाबासी विरोधमा
दुनै : रक्षामन्त्रीले उद्घाटन गर्ने जाजरकोट–दुनै सडकको डोल्पाबासीले विरोध गरेका छन् । अधुरो सडक उद्घाटन हुन लागेपछि स्थानीय आक्रोशित भएका हुन् । जाजरकोटबाट गाडी सीधै दुनै पुगेपछि मात्रै उद्घाटन गर्नुपर्ने उनीहरुको माग छ ।
सेनाले बनाएको जाजरकोट–दुनै सडकको लम्बाइ करिब एक सय १८ किलोमिटर छ । ०७३ भाद्र २३ गते डोल्पाको सिमाना त्रिवेणीमा सडक पुगेको थियो । केही दिनअघि छलगाडसम्म ट्र्याक खोल्ने काम सकिएको छ । तर दुनैसम्मै सडक पुग्यो भनेर उद्घाटन गर्न लागिएपछि डोल्पाबासीले आन्दोलनको चेतावनी दिएका छन् ।
मंसिर ४ गते रक्षामन्त्री ईश्वर पोखरेलले छलगाडमा सडक उद्घाटन गर्ने कार्यक्रम छ । ‘डोल्पा सडक सञ्जालमा जोडियो’, ‘दुनैसम्म गाडी पुग्यो’ जस्ता समाचारबाट डोल्पाली रिसाएका छन् । ‘करिब १५ किलोमिटर सडकको स्तरोन्नत्ति र केही ठाँउमा चट्टान नकाटिए दुनैसम्म राष्ट्रिय सडकमा जोडिँदैन,’ नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले दाबी गरे । डोल्पा राष्ट्रिय सडकमा जोडिन एक दर्जन ठाँउमा पुल निर्माण हुनुपर्ने, जाजरकोटबाट सिधै दुनै यात्रुबाहक गाडी पुग्नुपर्ने स्थानीयले बताएका छन् । अन्याथा डोल्पा सडक सञ्जालमा जोडिएको मान्य नहुने उनीहरुको भनाइ छ ।
आफूहरुको आवाज सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी ठूलीभेरी नगरपालिका–१ का वडाध्यक्ष बागबहादुर महताराले बताए । सेनाले भने आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । यद्यपि उसले रक्षा मन्त्रालयलाई लेखेको पत्रमा डोल्पा सडक खण्डको ट्र्याक खोल्ने काम सकिएको जनाएको छ ।
डोल्पाका नागरिकले पत्तै नपाउनेगरी उद्घाटन गर्न लागिएकोले विरोध भएको ठूलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले बताए । ‘सेना र सरकारले डोल्पालीमाथि घात गरेको छ,’ उनले भने ।
जिल्लाका कुनै पनि निकायलाई जानकारी नगराई रक्षा मन्त्रालयले सुटुक्क सडक उद्घाटन गर्न लागेको डोल्पालीको आरोप छ । यसको विरोधस्वरूप उनीहरूले जिल्ला प्रशासन कार्यालय डोल्पामा ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयको विरोधपछि डोल्पा जिल्लाबाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा उद्घाटनमा सहभागी नहुने भएका छन् ।