कविता : करिना तिमी लामो कविता हौ
ओठमा थोरै लिपस्टिक दलेर
आँखामा गाजल
अनि निधारमा टीका लगाएर
मुसुक्क मुस्कुराउँदै बिदाइको हात हल्लाउँदा
लाग्यो
करिना तिमी साँच्चै एक लामो कविता हौ
तिमीलाई मैले जन्मेको धेरै समयपछि
भेटेकी हुँ
र फेरि हाम्रो भेट सम्भव छ कि छैन
मलाई थाहा छैन
न थाहा छ तिमीलाई नै
तिमीसँग
यति सुदूरमा भेट भएपछि
किनकिन मन त्यसै तिमीतिरै
छोडेर आएको भान भएको छ
र लेख्न मन छ, तिम्रो बारेमा एउटा कविता
करिना तिमी लामो कविता हौ
दुःखको उपजबाट जन्मेको बिहानमा
तिमीले अबका दिनमा पनि
भारीसँगै बोक्नु छ किताब
भाँडासँगै मस्काउनु छ जीवनको दुःख
घोक्नु छ जीवनको पाठ
र कण्ठस्थ गर्नु छ अभावका रेखाहरूलाई
अरूले बुझून् या नबुझ्न्
तिमीले बुझ्नु छ अबको समयलाई
जिन्दगीमा धेरै छन् दुःखका गल्छेडाहरू
तर्नु छ तिमीले अझै कति समय देशको मानचित्रमा
कति पातहरूलाई
कुल्चनु छ तिमीले त्यही भञ्ज्याङमा
र समेट्नु छ रूखसँगको माया
कति उकालोहरू चढ्नु छ तिमीले
टेकेर आफ्नै पाइतालाबाट
जसरी चढेकी थिइन् पासाङले
पार गर्नु छ धेरै घुम्तीहरू
यस्तै मुस्कान बोकेर हरेक दुःखका दिनमा पनि
करिना जब तिम्रो आँखामा हेरे,
तिम्रो आँखामा सपनाको लस्कर लागेको छ
जसरी लस्कर लागेका छन् देशप्रति सारा जनताको
जसरी तिमीले हिँड्ने बाटोमा खुड्किला छ
त्यस्तै खुड्किला उक्लिँदै छ देशको विकास
त्यही सपना पूरा गर्नु छ तिमीले
यही पहाडहरू चढेर
उही पहेँलो स्विटरबाट
देख्नु छ तिमीले जीवनका अनेकौं रङ
तिम्रो नाकमा सिँगान बग्दा लाग्यो
उही तिलाखोलाले भिजाएको छ
तिम्रो जीवनको माटो
तिम्रो टाउकामा सल्बलाएका जुम्राहरूले
तिमीलाई दुःख दिएका छैनन्
बरु ती त हुन्
तुसारो परेको बिहान
जसले देखाउँछ जीवन फुल्नुपर्छ
आँखाका कचेरासँगै अझै फुलाउनु छ सपना
फुटेका कुर्कुच्चाबाट नै बनाउनु बाटो
फोहोर जमेको नङबाट चिथोर्नु छ तिमीले
तिमीलाई चुस्न खोज्नेलाई
कलेटी परेको ओठबाट फुटाउनु छ
जिन्दगीका सुन्दर अक्षरहरू
र पढ्नु छ अभावको रङ
करिना तिमी साँच्चै लामो कविता हौ
म सपना देख्न जान्दिनँ
अनि देखाउन त झनै जान्दिनँ
मलाई यति थाहा छ
जीवन दुःखको पिरामिड हो
र हरेकले बोक्नु छ दुःखको भारी हलुंगोसँग
जिन्दगीको कुनै मोडमा
संयोगवश भेट भएछ भने हाम्रो
बनेका हुन् तिम्रो सपनाको आकार
तर त्यस्तो सपना पनि नदेख्नु तिमीले
जसरी हरेक दिन संसद्भवनमा
देशका लागि समृद्धिको नारा लगाउँदै
देशका अभिभावकहरूले तालीको पर्रा छुटाउँछन्।