भुइँचालोपछिको आर्तनाद

भुइँचालोपछिको आर्तनाद

‘जब म श्रीमती भएको कोठातर्फ गएँ, म पुग्नुअगावै उनीहरू बसिरहेको कोठा भत्किसकेको रहेछ। उनीहरू भित्रै च्यापिएका थिए। ठीक त्यसै बेला ममाथि पनि घरको भित्तो आएर खस्यो। म पनि च्यापिएर भुइँमै बजारिएँ’, २०७२ को भूकम्पमा आमा, छोरी र श्रीमती गुमाएका सिन्धुपाल्चोक हेलम्बुका थोप्तेन लामा (३७) को कथा हो यो।

‘कस्तो विडम्बना ! जुन दिन भूकम्प गयो, त्यसै दिन ताहाचलस्थित घरमा सप्ताहको भव्य तयारी भइरहेको थियो। पण्डितले पनि वैशाख १२ गते मध्याह्नकै साइत निकालेका थिए। साइतमै देउता स्थापना गर्न लाग्दा भूकम्पले चारतले घर गल्र्यामगुर्लुम ढल्यो। कसरी गरूँ त्यो क्षणको बयान बाँचेका र उद्धारमा खटिएका ६१ जनाको कथा र भोगाइको संग्रह हो, ‘कम्पन’।

अमेरिकाको न्युयोर्कमा रहेका किशोर पन्थीले नेपालको महाभूकम्पको अनुभव त गर्न पाएनन् तर २९ को परकम्प भोगे। ‘नेपाल भत्किँदा मेरो पनि मन भत्कियो, पीडाको क्षणमा अमेरिका बसिरहन मन लागेन’, सञ्चारकर्मी रहेका उनले भूमिकामा लेखेका छन्, ‘मान्छेले आफूलाई सबैभन्दा सुरक्षित घरभित्र ठान्छ, चाहे त्यो घर थोत्रो नै किन नहोस्।

घर इँटा, माटो, काठ वा सिमेन्टले बनाएको संरचनामात्र होइन, घर भावना हो। सुखदुःखको चौतारी हो। घर विगतका सम्झनाहरू बोकेको एउटा पुस्तक हो।’ हो, करिब नौ लाख घर भत्किए तर थपिए तिनै प्रत्येक घरमा यस्तै दुःखका दर्जनौं पाना।

भूकम्पजस्तो महाविपद्को सामना कसरी गर्न सकिन्छ भन्ने सन्देश कम्पनले दिएको छ। लाखौं घर भत्किए, हजारौंको ज्यान गयो, करोडौंको मन दुखायो तर सबै नेपालीको मुटुलाई पनि जोड्न सफल भयो, महाभूकम्पले। कृतिभित्र भएका भन्दा दुःखद कथाहरू छुटेका छन्, कम्पनमा। लेखिएका कथा सबै पूर्ण छैनन्। लेखनमा लेखकसमेत पीडितझैं भावुक बनेका छन्।

केही संस्मरणमा ‘त्यसलाई शब्दमा वर्णन गर्न सकिन्न, कसरी बताऊँ त्यो कहालीलाग्दो कहानी संयोग नै भन्नुपर्छ, कम्पनभित्र जे पढेँ भूकम्पका यथार्थ घटना यसअघि नै मेरा भूकम्पसम्बन्धी दुई बालकथासंग्रह ‘वैशाख १२’ र ‘भैँचालो’मै समेटिसकेको रहेछु। लाग्दैछ, केही विषय समाचार संकलन त केही कल्पना गरेर लेखेँ तर कम्पन पढेपछि थाहा भयो, ती कल्पना पनि यथार्थ रहेछन्।

लेखकद्वयको साझेदारीले लेखनलाई ठोस बनाएको प्रस्ट हुन्छ। भूकम्पले पीडामात्र दिएन, जीवन जिउने पाठ अर्थात् कला पनि सिकाएको छ। वर्तमानलाई विखण्डनमात्र बनाएन, इतिहास पनि कोरेर गएको छ। यही क्रममा पन्थीले बाँच्नेहरूलाई अझ जीवन्त पार्ने र मर्नेहरूलाई पनि बचाइरहने काम गरेका छन्।

यद्यपि, प्रत्येक मर्मस्पर्शी शीर्षक र तिनका प्रस्तुतिले कृतिभित्रको लेखनी जीवन्त नै छ, ‘रसुवा जिल्लाको समरथली गाविसमा ३९ जनाको एकै चिहान। एकैछिन अगाडिको शान्त गाउँ कोलाहल र चित्कारमा परिणत भयो। त्यो त्रस्त वातावरणमा भुइँमात्र होइन, हरेक मानिसको तन र मन काँपिरहेको थियो।’

एकपछि अर्को कथा पढूँपढूँ लाग्छ, चाहे ती झन् पीडादायी किन नहुन्। उनले घटना सीधै नलेखेर आवश्यक पृष्ठभूमि जोडेकाले विस्तृत बुझ्न र पीडापछि ‘फ्रेस’ हुँदै पढ्न पाठकलाई सहज पनि छ।

भूकम्पकै कथा त हो नि भनेर पढ्न अल्छी गर्ने पाठकले पनि विषयक्रममा मात्र आँखा पुर्‍याए भने शीर्षकले पढूँपढूँ बनाउने छ, छोराको लास हेर्न सकिनँ, निदाएकै बेला पुरिनुभो बुवा, पूरै गाउँ पुरियो म बाँचेँ, २२ घन्टापछि फर्केको खुसी, मृत्युलाई नजिकबाट देख्दाको मनोदशा, मरेर बाँचेपछि राहतमा जुटेँ, राहतको रामकहानी, एकातिर शोक अर्कोतिर समाचार।

विषयक्रमभित्र अरू जे–जे छन्, तीमध्ये केही नराखेकै भए र केही घटना नछुटाएकै भए कृति अझ गहन हुने थियो। भाषामा शुद्धता र मिठासपन ठाउँठाउँमा खट्किन्छ। कृति महाभूकम्पको अमूल्य उपहार बनेर पाठकसामु आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.