उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर जनकपुर आउँदै
जनकपुरधाम : रामजानकी विवाह महोत्सवमा जन्ती बनेर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको नेतृत्व गरेर अयोध्याबाट आउने भएका छन् । उनी जन्ती आउने निश्चित भएपछि महोत्सव भव्य बनाउने गृहकार्य सुरु भएको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने टुंगो मात्र लागेको जानकारी दिए ।
लामो समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंह जन्ती बनेर आउने चर्चा चल्दै गएको थिये । तर मोदी नआउने निस्चित भइसकेको छ ।
गृहमन्त्री सिंह भने आउने सम्भावना अझै छ । मन्त्री यादवले गृहमन्त्री सिंह पनि जन्तीमा आउने विषयमा छलफल चलिरहेको बताए । मुख्यमन्त्री आदित्यनाथ भने जहाजबाट जनकपुर आउने पनि लगभग टुँगो लागिसकेको उनको भनाइ छ ।
जनकपुरमा मुख्यमन्त्री आदित्यनाथको सुरक्षाका लागि करिब ५ देखि ६ हजारसम्म सुरक्षाकर्मी परिचालन हुने मन्त्री यादवले बताए । उनले अयोध्याबाट आउने जन्तीलाई मधेस भवन (जचुकाली)मा र मुख्यमन्त्री आदित्यनाथलाई मुख्यमन्त्री लालबाबु राउतको निवासमा खाना खुवाउने तयारी भइरहेको बताए । भने, ‘निर्णय भने अहिले भइसकेको छैन ।’ मुख्यमन्त्री आदित्यनाथले विवाह महोत्सवको मुख्य कार्यक्रममा सहभागी हुने निश्चित मात्र भएको उनले जानकारी दिए ।
धार्मिक ग्रन्थ रामायणका अनुसार राम र सीताको विवाह सम्पन्न भएको मंसिर शुक्ल पञ्चमीका दिन हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव भव्यताका साथ मनाइन्छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि बिहे भएको थियो । त्यसैले अयोध्याबाट हरेक वर्ष जन्ती आउने गर्छ । यो पटक मुख्यमन्त्री आदित्यनाथ आउन लागेको र प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेपछि यो पटक महोत्सव भव्य हुने विश्वास गरिएको छ ।
मुख्यमन्त्री आदित्यनाथले जयनगर–जनकपुर (कुर्था) रेलको उद्घाटन र जनकपुरधाम उपमहानगरपालिका १४ मा निर्माण हुने भनिएको रामजानकी अन्तराष्ट्रिय स्टेडियमको शिलान्यास गर्ने भनिएपनि कार्यक्रम तय हुन सकेका छैन ।
जयनगरदेखि जनकपुरको कुर्थासम्म २७ किलोमिटरमा रेल लिक निर्माण भइसकेको छ । स्टेशन र कर्मचारी आवास निर्माण अन्तिम चरणमा छ । रेलको उद्घाटन हुने चर्चा चलेपछि अहिले सयौं कामदार दु्रत गतिमा काम गरिरहेका छन् । तर रेल इन्जिन र डब्बा खरिद गर्ने वा भाडामा लिने टुंगो लागेको छैन ।
मन्त्री यादवका अनुसार मुख्यमन्त्री आदित्यनाथ आउने टुंगो लागेपनि कुन कुन कार्यक्रममा सहभागी हुने भने अझै टुंगिएको छैन । दुई दिनपछि मात्र उनी सहभागी हुने कार्यक्रमबारे टुंगो लाग्ने उनको भनाइ छ । उनले स्टेडियमको शिलान्यास गर्ने विषयमा पनि छलफल मात्र भइरहेको बताए । भने, ‘रेल उद्घाटन र स्टेडियम शिलान्यस कार्यक्रमको टुंगो अझै लाग्न सकेको छैन । तर सम्भावना भने छ ।’
राष्ट्रिय खेलकुद परिषद्ले आगामी तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न अन्तराष्ट्रिय स्टेडियम लक्ष्य राखेको छ । स्टेडियम निर्माणका लागि ६ अर्बदेखि १० अर्बसम्म खर्च हुने अनुमान गरिएको छ ।
जसमध्ये राखेपले ७ करोड दिएको मन्त्री यादवले बताए । उनले केही रकम प्रदेश सरकारले दिने र घटेपछि दातासँग सहयोग माग्ने पनि जानकारी दिए । स्टेडियम लक्ष्मण मन्दिरको १६ विघा १७ कठ्ठा १९ धुर १ कनमा जग्गा राखेपले ३० वर्षका लागि गुठी संस्थानसँग लिजमा लिएको हो ।