नेपाली विद्यार्थीले हात पारे सात स्वर्ण पदक

नेपाली विद्यार्थीले हात पारे सात स्वर्ण पदक

काठमाडौं : भारतको बनारसस्थित सम्पूर्णानन्द विश्वविद्यालयमा सबैभन्दा बढी अंक ल्याएर नेपालका लेखनाथ पौडेलले सात स्वर्ण र एक रजत पदक हात पारेका छन्। 

आफू अध्ययनरत विषयसँगै विश्वविद्यालयमा सबैभन्दा बढी अंक ल्याउने एकजनाले सात स्वर्ण र एक रजत पाउने प्रावधानअनुरुप उनले यो उपलब्धी हाँसिल गरेका हुन्।

चार वर्षअघि तीन विद्यार्थीले ल्याएको उत्कृष्ट नम्बर ७५१ थियो भने उनले ८२५ अंक ल्याएका हुन्। दर्शन विषयमा आचार्य गरेका उनले सय पूर्णांकका नौवटा विषयमा परीक्षा दिएका थिए।

 ‘यो विश्वविद्यालयका लागिमात्र होइन, मेरै लागि पनि अकल्पनीय भयो’, परिणामपछि पदक ग्रहण गरेर नेपाल फर्किएका पौडेलले शनिबार अन्नपूर्णसँग भने, ‘मिहिनेतको फल साँच्चै मिठो हुँदोरहेछ, यसले नेपालकै गौरव बढाएको छ।’ 

२०५० सालमा जन्मिएका उनको घर सुनसरीस्थित बराहक्षेत्र नगरपालिका १० (साविक प्रकाशपुर गाविस ७) भुटाहाखाल हो। 

उनका अनुसार, चार वर्षअघि एक नेपाली र दुई भारतीय विद्यार्थीले बराबरी अंक ल्याएर उत्कृष्ट हुँदा तीनैजनालाई आठ-आठ पदक प्रदान गरिएको थियो। वर्षेनी विश्वविद्यालयमै उत्कृष्ट अंक ल्याउनेलाई सात स्वर्ण र एक रजत दिइने भए पनि पौडेलले भने हालसम्मकै उत्कृष्ट अंक ल्याएर रेकर्ड कायमसमेत गरेका हुन्।

आचार्यको परीक्षा दिनेमा २९ छात्र र ६ छात्रा थिए। विश्वविद्यालयले व्याकरण विभागमा उत्कृष्ट हुनेलाई चार वेद र साहित्य विभागमा उत्कृष्ट हुनेलाई तीन-तीन पदक दिँदै आएको उनको भनाइ छ।

विश्वविद्यालयका कूलाधिपति रहेका उत्तरप्रदेशका राज्यपाल राम नाइक, नागपुर विश्वविद्यालय महाराष्ट्रका कूलपति प्राध्यापक उमाचन्द्र शेखर वैद्य र सम्पूर्णानन्द विश्वविद्यालयकै कूलपति राजाराम शुक्लाले उनलाई पदक प्रदान गरे। 

‘मैले यो स्थानमा पुगेर नेपालको गौरव राख्नुमा नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको विशेष योगदान छ’, उनले थपे, ‘नेपालमा कुम्भ लगाएर वेदविद्याश्रम खोलेर मैले संस्कृत पढ्न पाएँ, पूर्वमध्यमादेखि बनारसमा प्राडा हरिप्रसाद अधिकारीको जिम्मा लगाएपछि उहाँमार्फत् यो खुड्किलो टेक्न सफल भएँ।’ अधिकारी सम्पूर्णानन्द विश्वविद्यालयको विश्व तुलनात्म धर्म विभागका अध्यक्ष हुन्।  

यसअघि शास्त्रीमा उनले पाँचौं स्थान हासिल गरेका थिए। ‘अधिकारी गुरुले गान्धीवं नामको पत्रिका र सुसंस्कृतम् नामको जर्नलमा काम गर्ने अवसर दिनुभयो’, उनले थपे,  ‘जहाँ अध्ययन, लेखन र भाषा सम्पादन गर्न पाउँदा मलाई माझिने अवसर प्राप्त भयो।’ 

जगद्गुरु बालसन्तले लेखनाथले संस्कृतको बिँडो थामेर नेपाललाई गौरव गर्ने अवसर दिएको बताए। ‘लोप हुँदै गएको संस्कृति र सबैमाझ भिज्न नसकेको दर्शनलाई विश्वभर फैलाउने खम्बा तयार भएको छ’, उनले थपे, ‘भविष्यमा धर्म र संस्कृतिको नेतृत्व लिने बलियो संभावना देखेको छु।’ 

पौडेलले पनि संस्कृतलाई विश्वभर फैलाउने सोच बनाएका छन्। उनले विद्यावारिधीका लागि काशी हिन्दु विश्वविद्यालयमा नाम निकालेका छन्। १५ जनाले दिएको परीक्षामा उनीसहित दुईले नाम निकालेका हुन्। 

उनले नेपालमा निम्बार्क दर्शन र आगम दर्शनको प्रभाव विषयमा विद्यावारिधी गर्ने सोच राखेको जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.