स्थानीय तहमै १५ शय्‍याको अस्पताल

स्थानीय तहमै १५ शय्‍याको अस्पताल

धादिङ : ग्रामीण क्षेत्रका जनतालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुरूप उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा १५ शय्‍याको अस्पताल सुचारु भएको छ। ‘एक गाउँपालिका १५ शय्‍याको एक अस्पताल’ को नीतिअनुसार सरकारले सुविधा सम्पन्न अस्पताल निर्माण गरिदिएको हो। अस्पताल निर्माण भएसँगै स्थानीयवासीले आँगनमै स्वास्थ्य सेवा पाउने भन्दै हर्ष व्यक्त गरेका छन्।

जिल्लामा ११ गाउँपालिका र दुई नगरपालिका सहित १३ स्थानीय तह छन्। सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी पन्ध्र शय्‍याको अस्पतालमा परिणत गरिएको हो। भौतिक पूर्वाधारको अभावमा बिरामीलाई सेवा प्रदान गर्दा निकै समस्या हुने गरेको थियो। सुविधासम्पन्न भवन बनेकाले धेरै सजिलो भएको चिकित्सकले बताए। रगत, दिशा, पिसाब आदि परीक्षण गर्न तथा ठूला एक्सरे गर्न सदरमुकाम र अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीय रमेश कँडेलेले बताए। उनले भने, ‘अलिक ठूलै बिमारी पर्दा रोग पहिचान गर्न पनि सदरमुकाम र काठमाडौं धाउनुपथ्र्यो, अब सबै ल्याब सुविधासहित परीक्षण हुने भएपछि सल्यानटारदेखि गोरखा आरुघाटसम्मका बिरामीलाई सजिलो भएको छ।’

अस्पतालमा दैनिक ५० देखि ७० बिरामी ओपिडी सेवा र २० देखि २५ जना आकस्मिक सेवा लिन आउने गरेका छन्। एक स्थायीसहित चार डाक्टर सेवामा छन् भने कर्मचारीको संख्या १४ छ। प्रत्येक वर्ष ३० देखि ४० हजार बिरामीलाई स्वास्थ्य केन्द्रले सेवा दिँदै आएकोमा अब संख्या बढ्ने अपेक्षा अस्पतालका डाक्टर ढुण्डीराज पौडेलको छ। सदरमुकाममै रहेको जिल्ला अस्पतालमा एक्सरे मेसिनलगायत बिग्रिएको र स्वास्थ्यकर्मी समेत नहुँदा समस्या भइरहेको बेला ग्रामीण क्षेत्रमा आधुनिक सेवासहित अस्पताल निर्माण हुँदा स्थानीयवासी खुसी छन्। सुविधासम्पन्न भवन नेपाल सरकारको चार करोडको लागतमा निर्माण गरिएको हो। प्रदेश सरकारबाट पनि आवश्यक बजेट प्रदान गरिएको थियो।

अस्पतालले केही महिनादेखि रेविज विरुद्धको भ्याक्सिन दिन सुरु गरेको र आगामी महिनाबाट सर्पदंशको उपचार पनि गर्ने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष शम्भूकुमार थापाले बताए। यसले उपचारका लागि ठूलो रकम खर्चेर सदरमुकाम र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यता हट्ने भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.