किसानलाई धान थन्क्याउने चटारो

किसानलाई धान थन्क्याउने चटारो

ताप्लेजुङ : ताप्लेजुङका कृषक धान थन्क्याउन व्यस्त छन्। यस वर्ष तिहार ढिलो भएकाले तिहारअघि धान काट्ने चटारो सुरु भएको थियो। अधिकांश ठाउँमा धान काटेर सकिएको र अहिले खलो (धान झार्न र पराल दाईं गर्न खेतलाई सफा गरेर बनाइएको स्थल)मा भेला गरेर झार्ने, दाईं गर्ने कार्य भइरहेको कृषकको भनाइ छ। ‘काटेर सकियो, सुकेको धानको बोटलाई भेला गरेर बिटा बाध्ने, खलामा जम्मा गरेर धान झार्ने अनि पराललाई दाईं गर्ने कार्य भइरहेको छ,’ फुङलिङ नगरपालिका २ का कृषक कृष्णप्रसाद गुरागाईंले भने।

यस वर्ष राम्रो धान फलेको कृषक बताउँछन्। पानी पर्याप्त परेर समयमै रोप्न पाएको र रोग नलागेको हुँदा धान राम्रो फलेको मेरिङ्देन गाउँपालिकाका कृषक हर्क लिम्बूले बताए। हिमाली जिल्लामा असोज अन्तिमदेखि मंसिरभरि कृषक धान थन्क्याउने काममा व्यस्त छन्। कृषकले धान उत्पादनमा वृद्धि हुने बताए पनि जिल्लामा धानको आधिकारिक तथ्यांक दिने निकाय छैन। विगतमा कृषि कार्यालयले कृषिसम्बन्धी सबै तथ्यांक संकलन गरेर राख्ने गरेको थियो। अहिले कृषि कार्यालय खारेज भएको छ।

कृषि कार्यालयको तथ्यांकअनुसार जिल्लामा ०७४÷७५मा १७ हजार टन धान उत्पादन भएको थियो। ‘सिञ्चित क्षेत्रमा नौ हजार, असिञ्चितमा आठ हजार र चैतेधान दुई सय टन उत्पादन भएको थियो। मूल्यका हिसाबले यो ७५ करोड रुपैयाँ हाराहारीमा हुन आउँछ,’ तथ्यांकमा उल्लेख छ।

सिरिजंघा गाउँपालिका–१ सिनाम र २ आम्बेगुदिन, पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन, फुङलिङ नगरपालिका वडा नं १,२,३,८ र ९ को तल्लो क्षेत्र, मिक्वाखोला गाउँपालिका वडा नं १ र २ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिन बढी धान उत्पादन हुने क्षेत्र हुन्। एक लाख २७ हजार जनसंख्या रहेको ताप्लेजुङमा उत्पादित धानले ६ महिना पनि खान नपुग्ने गत वर्षको कृषि कार्यालयको तथ्यांक छ। धान उत्पादन वृद्धि गर्न स्थानीय तहले पनि आफ्नो नीति तथा कार्यक्रम प्रभावकारी योजना समेटेका छैनन्।

क्याप्सन ः फुङलिङ नगरपालिका–२ को ठोक्रेबेसीस्थित खलोमा धान झार्दै कृषक। सीताराम गुरागाईं


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.