बडिगाड महोत्सव सुरु
बागलुङ : बागलुङको पश्चिम ग्वालीचौरमा प्रथम बडिगाड महोत्सव सुरु भएको छ । स्थानीय परम्परागत न्वागी मेलाको अवसर पारेर बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रको आयोजना तथा बडिगाड गाउँपालिकाको मुख्य प्रवद्र्धनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले महोत्सव उद्घाटन गरे । मन्त्री अधिकारीले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याएर छोड्ने दाबी गरे ।
‘अहिले पर्यटकको आगमन उत्साहजनक छ,’ उनले भने, ‘सरकारले केही गरेन भन्ने गुनासो छ, अहिले पनि ३४ प्रतिशतले पर्यटक वृद्धि भएको छ । हामी लक्ष्यअनुसार पर्यटक भित्र्याउन सफल हुने विश्वास छ । उनले जनताको महत्वाकांक्षा बढी भए पनि अहिले ६ प्रतिशतले आर्थिक वृद्धिदर, ३० प्रतिशतले राजस्वमा वृद्धि भएको बताए । लामो समयदेखिको अव्यवस्था र अराजकता तोड्न लाग्दा केही अलमलिएजस्तो आभाष भएको मन्त्री अधिकारीको भनाइ थियो ।
बागलुङ सदरमुकाम छेउमा भएकाले मध्यपहाडि लोकमार्गले दुर्गमलाई छिचोल्ने उनले बताए । यसका लागि सरकारले लोकमार्गलाई अघि बढाउन प्रभावकारी काम गर्ने उनले बताए । सालझन्डी हुँदै ढोरपाटन सडकलाई मुस्ताङको मुक्तिनाथसम्म जोड्ने काम हुन लागेको मन्त्री अधिकारीले बताए ।
मंसिर ९ गतेसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन र मौलिक लोक संस्कृति विशेष आकर्षण रहनेछ । महोत्सवमा बडिगाड खोलाको असला माछा, रणसिंहको भीरमौरी तथा महको स्वाद लिन पाइने महोत्सव मूल आयोजक समितिका संयोजक कलाधर घिमिरेले बताए ।