राम–जानकी विवाह महोत्सवमा जन्ती आउँदै यूपीका मुख्यमन्त्री

राम–जानकी विवाह महोत्सवमा जन्ती आउँदै यूपीका मुख्यमन्त्री

जनकपुरधाम : भारतको उत्तरप्रदेश (यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीका रूपमा राम–जानकी विवाह महोत्सवमा सहभागी हुने भएका छन्। भारतको अयोध्यासहित विभिन्न स्थानबाट साधुसन्त प्रत्येक वर्ष महोत्सवमा जन्तीका रूपमा जनकपुर आउने गरेका छन्। यसपटक मुख्यमन्त्री आदित्यनाथ पनि विवाह महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। उनका अनुसार विभिन्न मठका मठाधीश पनि महोत्सवमा आउने भएका छन्।

‘उत्तर प्रदेशका मुख्यमन्त्री आउने भएपछि हामी अझ बढी आकर्षक रूपमा महोत्सव मनाउने तयारीमा छौं’, मन्त्री यादवले भने। आदित्यनाथको जनकपुर भ्रमणलाई व्यवस्थित बनाउने विषयमा प्रदेश सरकारका तर्फबाट अध्ययन भइरहेको उनले सुनाए। महोत्सवमा व्यवस्थापनका लागि प्रत्येक वर्ष सुरक्षाकर्मी परिचालन हँुदै आएका छन्। यस वर्ष विशिष्ट पाहुनाको उपस्थितिका कारण ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइन लागिएको मन्त्री यादवको भनाइ छ। ‘दुई–तीन दिनभित्र सबै कुरा तय भएपछि विस्तृत जानकारी गराउँछौं’, उनले भने।

भारतीय राजदूत मन्जीवसिंह पुरीले प्रदेश सरकार, स्थानीय तहका प्रमुख तथा जानकी मन्दिरका महन्थलाई भेटी आदित्यनाथको भ्रमण तय भएको जानकारी दिएका थिए। राजदूत पुरीका तर्फबाट आदित्यनाथको जनकपुर भ्रमण टुंगो लागेको जानकारी पाएको जानकी मन्दिरका छोटे महन्थ रामरोशनदास वैष्णवले बताए। प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी आदित्यनाथ स्वागतको तयारी गर्न लागिएको उनको भनाइ छ। ‘हामीलाई प्राप्त जानकारीअनुसार आदित्यनाथ बिहान १० बजे जनकपुर आएर वैवाहिक कार्यक्रममा दिनभर सहभागी हुनेछन्’, उनले भने। यही मंसिर २६ गतेका लागि महोत्सव आयोजना गरिएको छ।

उनका अनुसार रंगभूमि मैदानमा हुने राम–सीता स्वयम्बरमा पनि आदित्यनाथ सहभागी हुनेछन्। मिथिलाको सभ्यता झल्किने सांस्कृतिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छोटे महन्थले बताए। ‘राम–सीता विवाह महोत्सव मिथिलाको मात्र नभई नेपाल र भारत दुई देशबीचको सांस्कृतिक सम्बन्धको धरोहर हो’, उनले भने, ‘त्यसैले यसको निरन्तरताका लागि यस वर्ष योगी जनकपुर आउनु प्रशंसनीय छ।’

तर, विशिष्ट व्यक्तिको आगमनका कारण मेला प्रभावित नहोस् र श्रद्धालुले समस्या खेप्नु नपरोस् भन्ने ध्यान दिइरहेको उनले सुनाए। मन्दिर प्रवेशका ६ बाटोमध्ये पाँचवटा सर्वसाधारण र भीआईपीका लागि एउटा प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.