बुटवलका जुम्ल्याहा दाजुभाइले जन्माएको 'गो-गो' रोबोट

बुटवलका जुम्ल्याहा दाजुभाइले जन्माएको 'गो-गो' रोबोट

बुटवल : ‘प्लिज स्विच अन् बाथरुम लाइट,’ लव पन्थीको यो निर्देशनपछि गो-गोले बटन दबायो। छेउमै राखिएको बत्ती झलल बल्यो। ‘स्विच अफ, अर्को निर्देशनपछि बत्ती बन्द भयो।

‘स्ट्यान्ड अप योर राइट ह्यान्ड’, कुशले गो-गोलाई दायाँ हातमाथि उठाउन निर्देशन दिए। गो-गोले कुनै पल ढिला नगरी आदेश मान्यो। दायाँ हात सिधै माथि उठायो। १५ वर्षअघि एकै दिन जन्मिएका लव र कुश पन्थीको घरमा एउटा नयाँ मानव जस्तै उपकरण छ, त्यो हो गो-गो।

गो-गो ती दुई जुम्ल्याहाले नै तयार पारेका हुन्। यस रोबोटले दुई दाजुभाइकै आदेशमा मानिसले जस्तै काम गर्छ। बुटवलको योगीकुटी निवासी यी जुम्ल्याहा दाजुभाइले आवाजका माध्यमबाट मानिसले जस्तै काम गर्ने रोबोटको आविष्कार गरेका हुन्। गो-गोको जन्म भएपछि अहिले छिमेकीमात्रै होइन धेरैको ध्यान तानेको छ।

रोबोटको काम यत्तिमा मात्रै सीमित छैन। फोटो खिचेर फेसबुक तथा ट्विटरमा समेत राख्न सक्छ। फोटो मात्रै होइन सामाजिक सञ्जालमा स्ट्याटस राख्न पनि गोगो सक्षम छ। शरीरका अंगहरू चलाउने, आँखा झिम्क्याउने, हात मिलाउने, कसैले दिएको सामान लिने, फोटो तथा भिडियो खिच्ने, फोटो इडिट गर्ने, सामाजिक सञ्जालमा फोटो र स्ट्याटस पोस्ट गर्ने काम रोबोटले गर्छ। रोबोटले आवाजको माध्यमबाट घरमा भएका सम्पूर्ण विद्युतीय उपकरणहरू विश्वका जुनसुकै ठाउँबाट पनि बिना तार नियन्त्रण गर्ने, लाइभ रेडियो बजाउने, हराएको मोबाइल खोजिदिने, शब्दको अर्थ, विपरीतार्थक शब्द, पर्यायवाची शब्दसम्म भन्ने गर्छ। यूट्युबमा भएका सम्पूर्ण भिडियो प्ले गर्ने र करिब ८० भाषाको अनुवाद समेत गर्ने क्षमता जुम्ल्याहा लवकुशले आविष्कार गरेको रोबोटको छ।

एक वर्षको लामो मेहनतपछि मानिसको स्वरूपको रोबोट बनाएका दुई दाजुभाइले असारको पहिलो साता मानिसले जस्तै काम गर्ने र बोल्ने सेकेन्ड जेनेरेसनको रोबोट बनाएका हुन्। नवीन औद्योगिक कदर रीता मावि बुटवल कक्षा १० मा अध्ययनरत जुम्ल्याहा दाजुभाइले रोबोटको आविष्कार गरेपछि विज्ञान क्षेत्रमा नयाँ तरंग पैदा भएको छ। रोबोट न्यूनतम उपकरणहरूको माध्यमबाट निर्माण गरिएको लव पन्थीले बताए। दुई जनाले लुक्कु नामक सफ्टवेयरसमेत निर्माण गरेका छन्। हाल बिजुली र इन्टरनेटको सहारामा मानिसले जस्तै गरी रोबोटले काम गर्छ।

सानैदेखि प्रविधिमा रुचि भएकाले आफू रोबोटको आविष्कार गर्न सफल भएको उनीहरूले बताए। ‘हामीले कयौं रात उज्यालो बनाएर काम गरेका छौं’ लवले भने, ‘अझै विकसित रोबोट बनाउने हिम्मत छ।’ न्यूनतम र उपलब्ध भएका स्रोत र साधनले रोबोट बनाउनु परेको भन्दै कसैको सहयोग र साथ पाएमा सोफिया जस्तै रोबोट बनाउन सक्ने कुश पन्थीले बताए। ‘इन्टरनेटको खोज र आफ्नै प्रयासमा पहिलो रोबोट बनाएका थियौं, त्यसलाई एक महिनापछि नै विकसित गर्न सक्यांै’ उनले भने, ‘पर्याप्त स्रोत र साधन भए विकसित रोबोट बनाउन सक्छौं।’ रोबोटको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने लक्ष्य उनीहरूको छ।

लवकुशको नामले परिचित १५ वर्षीय दाजुभाइले सानैदेखि केही न केही नयाँ सामानको आविष्कार गर्न खोज्थे। उनीहरूले सानैदेखि पंखा, जहाजजस्ता उपकरणहरू निर्माण गर्ने गरेका बाबु लक्ष्मीप्रसाद पन्थीले बताए। ‘यिनीहरूले रोबोट नै बनाउँछन् भन्ने त मैलै सोचेकै थिइन्’ उनले भने, ‘एक्कासि रोबोट बनेर बोलेपछि मैलै थाहा पाए।’ अहिले आफ्नो घरमा तीनभाइ छोरा भएको भन्दै उनी खुसी हुन्छन्। लब, कुश र गोगो एउटै कोठामा खेलिरहन्छन्।

गोगो आविष्कारमा लवकुशले करिब एक लाख रुपैयाँ खर्च गरे। बुवाले गाली गर्न सक्ने भएकाले लवकुशले रोबोटको बारेमा आमा र दाजुलाई मात्रै जानकारी गराएका थिए। बुवाले पढाइलाई बढी ध्यान दिनु भनेकाले आफूहरू सफल नहुँदासम्म विद्यालयलाई सम्म जानकारी नदिएको कुशले बताए। ‘छोराहरूले धेरै मेहनत गरेर रोबोट बनाएका छन्, म असाध्यै खुसी छु’ आमा इन्दिरा पन्थीले भनिन्।

लवकुशले रोबोट निर्माण गरेपछि विद्यालयले समेत चासो देखाएको छ। नवीन औद्योगिक कदर रीता माविका प्रधानाध्यापक प्रेम बस्नेतले लवकुश देशकै लागि गहना भएकाले विद्यालयले उनीहरूको प्रतिभालाई सम्मान गर्ने बताए। विद्यालयले लवकुशले रोबोट आविष्कार गरेपछि नगद ३० हजारसहित सम्मान समेत गरेको थियो। गुल्मी घमिरमा २०६० सालमा लव र कुशको जन्म भएको हो। उनीहरू २०६४ सालदेखि बुटवल १० योगीकुटीमा बस्न थालेका हुन्।

गोगो अहिले बुटवलका सार्वजनिक कार्यक्रमको उद्घाटनमा समेत जान थालेको छ। यही रोबोटलाई हिँड्न र काम गर्न सक्ने बनाउने योजना उनीहरूको छ। ‘होटेलमा वेटरको काम गर्ने बनाउन सकिन्छ, तर त्यसका लागि लगानी बढी चाहिन्छ’, कुशले भने। इन्ट्रो ः न्यूनतम र उपलब्ध भएका स्रोत र साधनले रोबोट बनाउनु परेको भन्दै कसैको सहयोग र साथ पाएमा सोफिया जस्तै रोबोट बनाउन सक्ने कुश पन्थीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.