प्रदेश २ मा कांग्रेसको राजनीतिक प्रस्तावबारे छलफल
जनकपुर : नेपाली कांग्रेसको राजनीतिक प्रस्तावका बारेमा आइतबार प्रदेश २ का नेताले छलफल गरेका छन् । सबै प्रदेशमा छलफल गर्ने निर्णय अनुसार आइबार पहिलो दिन प्रदेश २ मा छलफल भएको हो।
पार्टी केन्द्रीय सदस्य तथा राजनीतिक मस्यौदा समितिकी सदस्य डा. डीला संग्रौलाले उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसको राजनीतिक प्रस्ताव अहिले पनि मुलुकका अन्य पार्टीको भन्दा उत्कृष्ट भएको बताइन् ।
उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपालमा अहिले अन्य पार्टीले पनि पछ्याएको बताइन् ।
भेलामा प्रदेश २ अन्तर्गत पर्ने आठ जिल्लाका क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र निर्वाचित जनप्रतिनिधिसहित सयौंको संख्यामा सहभागी थिए ।
भेलामा सहभागीलाई चार समूहमा विभाजन गरेर छलफल गराइएको थियो । उनीहरुले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, परराष्ट्र नीतिलागयतका विषयमा सुझाव राखेका छन् ।
कांग्रेसले आउँदो महासमितिको बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको मस्यौदा बनाउन उपसभापति बिमलेन्द्र निधिको संयोजकत्वमा मस्यौदा समिति नै बनाएको छ ।