अछामका ५ हजार ६ सय बढी किसानलाई निशुल्क बीउ
अछाम : चौरपाटी गाउँपालिकाले ५ हजार ६ सय बढी किसानलाई निःशुल्क गहुँको बीउ वितरण गरेको छ। गाउँपालिकाका सातवटै वडाका किसानलाई प्रति घर धुरी ७ किलो गहुँको बीउ वितरण गरिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउँदले जानकारी दिए।
गाउँपालिकाबाट वडा नम्बर १ सिउडीमा ५० क्विन्टल, २ सोकटमा २० क्विन्टल, ३ गगुडामा ५० क्विन्टल, ४ पायलमा ७० क्विन्टल, ५ लुंग्रामा ६० क्विन्टल, ६ दुनीमा २० क्विन्टल र ७ मार्कुमा ४० क्वीन्टल गरी ३ सय १० क्विन्टल गहुँ वितरण गरेको हो।
सातवटा वडाको लागि साढे २० लाखको गहुँ खरिद गरेर वितरण गरिएको अध्यक्ष साउँदले बताए। यस्तै कृषकलाई तरकारी खेतीका लागि ८५ क्विन्टल आलुको बीउ पनि वितरण गरिएको छ।
गाउँपालिकाको ६० प्रतिशत अर्थात ८ लाख रकम लगानीमा कृषकलाई आलुको बीउ वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए। गहुँको बीउ पाएपछि चौरपाटी गाउँपालिकाका किसान खुसी भएका छन्। गाउँपालिकामा गत चैत महिनामा असिनापानीले गहुँवालीमा क्षति गरेको थियो।
गहुँको बीउको समस्या भएको बेला गाउँपालिकाले गहुँको बीउ वितरण गरेपछि राहत भएको स्थानीय कृषक कमला कुँवरले बताइन्। उनले भनिन्, ' गत चैत महिनामा असिनापानीले गहुवाली पुरै नष्ट गर्यो।छर्नलाई बीउ पनि थिएन।'
'गाउँपालिकाकाले निशुल्क बीउ दिएपछि राहत भएको छ', उनले भनिन् । स्थानीय कृषक झंकर खड्काले गाउँपालिकाले गहुँको बीउ वितरण गरेपछि आफूजस्ता असिना पीडित किसानलाई ठूलो राहत मिलेको बताए।