प्रकाशको स्मृतिसभा: प्रचण्ड-सीताको आँसु र बीना-सिर्जनाको मिलन
काठमाडौँ : सिर्जना स्टेजतिर आइरहेकी छन्, हातमा केही सामान छ । त्यतिकैमा उनलार्इ बीनाले आवाजमा इशारा दिन्छिन् । उनीहरू बीचमा केही कुरा हुन्छ, सिर्जनाले बोकेको सामान बीनालार्इ थमाउँछिन् र, घरभित्र छिर्छिन् ।
यो दृष्य हो खुमलटारस्थित पुष्पकमल दाहाल प्रचण्ड निवासको । जहाँ सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डका छोरा प्रकाशको स्मृति सभा आयोजना गरिएको थियो। प्रचण्ड निवास अगाडि भइरहेको सभामा आएका सबै अथिति शोकमुद्रामा थिए। प्रचण्ड परिवारका सदस्यहरुको आँसुले त त्यहाँको माहोल झनै स्तब्धपूर्ण थियो, त्यहाँ पुगेका जोकोही अनुहार थिए मलिन।
प्रकाशका दुर्इ श्रीमती जेठी सिर्जना त्रिपाठी र कान्छी बीना मगरको अनुहार पनि त्यस्तै थियो। उनीहरूको अनुहारले प्रष्ट भन्थ्यो, आजको दिन प्रकाशको अतीतले दुवैलार्इ निरन्तर पछ्याइरहेको छ। दुवैजनाले आफूलार्इ जबरजस्ती सम्हाल्न कोशिस गरिरहेका थिए। आँखामा आँसु टिलपिल बनाउँदै उनीहरु आगन्तुकलार्इ स्वागतमा पनि जुटिरहेका थिए ।
प्रकाशकी आमा सीता दाहालको आफूलार्इ सम्हाल्न सकिरहेकी थिइनन्। उनलार्इ दुवै बुहारी र छोरी मिलेर स्टेजसम्म पुर्याए । समग्रमा हेर्दा बीना र सिर्जनामा एक किसिमको मित्रता झल्किरहेको थियो प्रकाशको स्मृति सभामा ।
गत वर्ष आजकै दिन प्रकाशको निधन भएको थियो। प्रचण्डको तत्कालीन निवास लाजिम्पाटमा प्रकाश गत वर्ष आजकै दिन मृत भेटिए। पछि चिकित्सकहरूले उनको मृत्यु हृदयाघातका कारण भएको बताए । चुनावी तयारीका लागि गृहजिल्ला कञ्चनपुरमा रहेकी बीनालार्इ प्रकाश यो संसारमा नरहेको खबरले तुरुन्तै काठमाडौंसम्म हुत्याएको थियो। अर्कोतर्फ सिर्जना नर्भिक अस्पतानको एउटा शय्यामा अचेत थिइन् ।
प्रकाशको निधनपछि बीना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। पछि खानेपानी तथा सरसफाइ मन्त्री पनि भइन्। सिर्जना भने पोखरामै बस्न थालिन्। उनीहरू लामो समयसम्म साथै हुन पाएनन्। प्रकाशको निधनको बियोगले बीना र सिर्जनालार्इ नजिक ल्याइदियो। त्यो पनि साथीका रुपमा। स्मृति सभामा प्रचण्डनिकट एक नेताले उनीहरूमा मनमुटाव नभएरको र एकआपसमा मैत्रीभाव रहेको बताए।
बीना र सिर्जना दुवैका एक-एक छोरा छन् । सिर्जनाका छोरा प्रसिद्ध बीनाका छोराभन्दा जेठा हुन् । प्रसिद्ध पोखरामै अध्ययन गरिरहेका छन्।
आमा-बुवाका आँसु
प्रकाशको जीवन यात्रासम्बन्धी तयार पारिएको अडियो सुन्दै गर्दा मञ्चमा बसेका बुबा प्रचण्ड र आमा सीताका आँसु रोकिएनन्। आगन्तुकलार्इ हेर्दै उनीहरूले सम्हाल्न खोजे तर सकेनन्। अझ बढी आमाको अवस्था कमजोर देखिन्थ्यो। पटक पटक आफैँ सम्हालिन्थिन् भने सँगै रहेका श्रीमान प्रचण्डले सम्झाइबुझाइ गर्थे।
'घटना सामना गर्न सहज थिएन तर तपाईंहरू सबैको मायाले असम्भव जस्तो लाग्ने उक्त घटनाको मैले सामना गरेँ । परिवार, पार्टी र मलाई यो उपस्थितिले ऊर्जा थपेको छ। बाँच्ने र राष्ट्रको हितमा काम गर्ने ऊर्जा मिलेको छ' प्रचण्डले सभामा भक्कानिँदै भने, 'तपाईँहरूको साथ, सहयोग नभएको भए हाम्रो परिवार यतिबेला बिघटन भइसक्थ्यो ।'