प्रकाश दाहालको सम्झनामा दीप प्रज्वलन
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा (माओवादी केन्द्र)का युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा सोमबार दीप प्रज्वलन गरेको छ।
माइतीघरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताएका छन्। नेपाली समाज परिवर्तन गर्न देखाएको भूमिका प्रेरणादायी रहेको भन्दै उनले प्रकाशको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टी एकता गर्ने सपना पूरा भए पनि त्यो एकता देख्न नपाएको बताएका हुन्।
कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेल र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले प्रकाशले देखाएको बाटोमा युवा तथा विद्यार्थी हिँडेर मुलुकमा समृद्धि ल्याउनुपर्ने बताए।
कार्यक्रममा युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग (वाईसीएल), अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का पदाधिकारीको सहभागिता थियो। प्रकाशको गत वर्ष आजैका दिन हृदयाघातका कारण निधन भएको थियो।