प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ
काठमाडौं : दोलखाका दिनेश कोइराला काठमाडौं प्रहरीको हिरासतमा छन्। चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ। पछिल्लो समय प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ। कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित छ। दोलखा कांग्रेसका पूर्वसभापति तारा कोइरालानिकट भन्दै उनले धेरैलाई फसाएका छन्।
पूर्वसेनापति प्याराजंग थापाका छोरा कविरजंग र प्रहरीका पूर्वअधिकृतलाई नै जालमा पारेका छन् उनले। घरजग्गा नामसारी तथा चर्को ब्याजमा ऋण लिने बहानामा उनले ठग्दै आएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। ‘कोइरालाले झापादेखि धनगढीसम्मकालाई ठग्न भ्याएका छन्’, काठमाडौं प्रहरी मुद्दा शाखाका डीएसपी मोहन थापाले भने, ‘धेरै उच्चपदस्थ व्यक्ति नै उनीबाट ठगिएका छन्।’
पछिल्लो दुई महिनामा तारकेश्वर नगरपालिकाका मनोहर तिवारी र सुनसरीका अनिल विश्वकर्मा जस्ता ठूला ठग जेल पुगेका छन्। तिवारीले सात जनाबाट चार करोड र विश्वकर्माले एक सयभन्दा बढी व्यक्तिबाट सात करोड रुपैयाँ ठगी गरेका थिए। प्रहरीका अनुसार दुवैले घरजग्गा कारोबार र चर्को ब्याजको प्रलोभन पारेर पैसा उठाउँथे। तर ऋणीलाई उनीहरूले दिएको चेक बाउन्स हुन्थ्यो। काठमाडौंमा उजुरी परेकामध्ये तिवारी र विश्वकर्मा ठूलो रकम ठग्ने व्यक्ति हुन्। डीएसपी थापाका अनुसार ठगिएका भीआईपी आफ्नो नाम खुलाउन चाहँदैनन्।
ठगिनेमध्येकी एक हुन्, प्रदेश ४ प्रमुख बाबुराम कुँवरपत्नी सीता प्रसाईं। उनले दुई वटा उजुरी प्रहरीमा दर्ता गराएकी छन्। निर्जला विमली सेढाईं र रमेशलाल राजभण्डारीले आफूलाई ठगेको उनको आरोप छ। उजुरीअनुसार सेढाईंले ५० लाख र राजभण्डारीले ३५ लाख रुपैयाँ ठगेको उनको दाबी छ।
‘कुँवर ठगिएको भित्री रहस्य ढुकुटी रहेछ। उनले ढुकुटी खेलाउने र खेल्नेलाई पहिल्यै चेक दिने गरेको सूचना हामीले पाएका छौं’, नाम नबताउने सर्तमा एक उच्च प्रहरी अधिकृतले भने। कुँवरबाटै ढुकुटी खेल्दा चर्को ब्याज तिर्न नसकेको भन्दै केही प्रहरीमा समेत पुगेका थिए। तर प्रमाण नपुगेपछि प्रहरीले उजुरी लिन मानेन। उनका पति बाबुराम महान्यायाधिवक्ता हुँदै कुँवरले ढुकुटी खेलाउने गर्थिन्। ‘पीडित बनेर आएपछि हामीले उजुरी लिनैपर्यो’, ती प्रहरी अधिकृतले भने, ‘तर कुँवरकै कार्यशैली शंकास्पद देखिन्छ।’
काठमाडौं प्रहरीले चेक बाउन्स मुद्दा हेर्न छुट्टै पिलर खडा गरेको छ। साउन १ देखि हालसम्म काठमाडौंमा एक हजार एक सय १६ वटा उजुरी प्रहरीमा दर्ता भएका छन्। तीमध्ये एक सय पाँच वटा मुद्दा मातहतका वृत्त पठाइएको छ। उजुरी लिएकामध्ये एक सय ९३ वटा घटनामा प्रहरीले मुद्दा चलाइसकेको छ। दुई सय ६१ उजुरीचाहिँ पीडितले नै फिर्ता लिएका छन्। एक लाखदेखि सात करोड रुपैयाँसम्म ठगिएका प्रहरीमा पुगेका छन्। प्रहरीले चेक बाउन्सकै मुद्दा दैनिक १० वटा हेर्नुपरेको काठमाडौं प्रमुख एसएसपी वसन्तकुमार लामा बताउँछन्। लेनदेनको मुद्दा प्रहरीले नहेर्ने भएपछि कारोबारीले चेकमै कारोबार गर्न थालेको बुझाइ लामाको छ।
‘पहिला कुरा मिलेसम्म चर्को ब्याजमा पैसा लिने र अन्य लेनदेन गर्ने, कुरा नमिलेपछि चेक मागेर बाउन्स गराउने अनि प्रहरीमा आउने प्रवृत्ति छ’, उनले भने। पछिल्लो समय प्रहरीलाई ठगीकै मुद्दा अनुसन्धान गर्नुपर्दा धेरै समय खर्चिनुपरेको उनी बताउँछन्।