संकटा र एपीएफ विजयी
काठमाडौं : संकटा र विभागीय टोली एपीएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सफलता हात पारेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको पहिलो खेलमा संकटाले जाउलाखेलाई २-० गोलले हरायो। एन्फामै भएको अर्को खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १-० गोलले पराजित गर्यो।
लिगमा संकटाको यो लगातार दोस्रो जित हो। जितसँगै संकटाले ६ अंक बनाएको छ। लिगको आफ्नो पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १-० गोलले हराएको थियो। लगातार दुई खेल हारेको जाउलाखेलले खाता खोल्न सकेको छैन। लिगको आफ्नो पहिलो खेलमा जाउलाखेल नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित भएको थियो। खेलको सुरुआतमै १० खेलाडीमा समेटिए पनि संकटाले जाउलाखेललाई नियन्त्रणमा राखेको थियो।
१९औं मिनेटमा संकटाका एलोन म्याक्सवेल दोहोरो पहेँलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि संकटा १० खेलाडीमा समेटिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। संकटाका लागि दुवै गोल अफ्रिकी खेलाडी सेड्रिक आबाले गरे। आबाले ५८औं मिनेटमा सुभास गुरुङको पासमा खाता खोलेका थिए। उनले ८५औं मिनेटमा अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
यसैगरी प्रतिस्पर्धात्मक खेलमा एपीएफले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिगमा पहिलो जित हात पार्यो। एपीएफको जितमा प्रवीण स्याङ्तान नायक बने। इन्जुरी समयमा फ्रेन्ड्सको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै प्रवीणले जाली चुमाएका थिए। खेलको म्यान अफ दी म्याच बनेका प्रवीणले १० हजार रुपैयाँ पुरस्कार पनि पाए। जितसँगै एपीएफले दुई खेलबाट चार अंक बनाएको छ। एपीएफ पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको थियो। दुवै खेलमा पराजय भोगेको फ्रेन्ड्सले पनि अंक जोड्न सकेको छैन। फ्रेन्ड्स पहिलो खेलमा थ्रीस्टार क्लबसँग पराजित भएको थियो।
यसैगरी हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको अर्को खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबलाई १-० गोलले पराजित गर्यो। शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे। विश्वासले २९औं मिनेटमा गरेको गोल नै शेर्पाका लागि पर्याप्त बन्यो। शेर्पाले दुई खेलबाट चार अंक बनाएको छ। आफ्नो पहिलो खेलमा शेर्पाले एपीएफसँग बराबरी खेल्दै अंक बाँडेको थियो। दुई खेलमा हार खेपेको सरस्वतीले पनि खाता खोल्न सकेको छैन।