एभरेस्ट प्रिमियर लिग क्रिकेट : खेल तालिका सार्वजनिक

एभरेस्ट प्रिमियर लिग क्रिकेट : खेल तालिका सार्वजनिक

काठमाडौं : अबको १९ दिनपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सबीच भिडन्त हुने भएको छ । आयोजक जोहरा स्पोर्टस् म्यानेजमेन्टले सोमबार सार्वजनिक गरेको खेलतालिकाअनुसार पारस खड्का नेतृत्वको विराटनगर र ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुरबीच पहिलो खेल हुनेछ ।

मंसिर २२ देखि पुस ७ सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन एउटामात्र खेल हुनेछ भने त्यसपछिको ६ दिन दुई÷दुई खेल हुनेछन् । त्यसपछि फेरि फाइनलसम्म एक÷एक खेल हुनेछ । प्रतियोगितामा विराटनगर र ललितपुरसहित साविकका काठमाडौं किङ्स इलाभेन, भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिग चरणको खेलमा शीर्ष चार स्थानमा रहने टोली प्ले अफ चरणमा प्रवेश गर्नेछन् । त्यसबाहेकका टोली उपाधि होडबाट बाहिरिने छन् ।

शीर्ष चारमध्ये पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायर खेलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले तेस्रो र चौथो स्थानमा रहने टोलीबीचको इलिमिनेटर खेलमा जित हात पारेर आएको टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । पहिलो र दोस्रो क्वालिफायर खेलको विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष फाइनल खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवालाई एक रनले पराजित गर्दै विराटनगरले उपाधि जितेको थियो ।

पोखरामा अस्ट्रेलियन प्रशिक्षक

पोखरा राइनोजले अस्ट्रेलियन प्रशिक्षक नाथन डोडलाई आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको छ । डोडले अस्ट्रेलियन क्रिकेट बोर्डबाट लेवल थ्री कोचिङ कोर्स गरेका छन् । डोडले विभिन्न अन्तर्राष्ट्रिय खेलाडीका लागि व्यक्तिगत तथा टोलीहरूका लागि परामर्शदाता प्रशिक्षकका रूपमा समेत काम गरेका छन् । डोडले आफ्नो प्रशिक्षणमा पोखरा राइनोजका खेलाडीको क्षमता सुधार गर्न आफूले मेहनत गर्ने बताए । ‘पोखरा राइनोजका खेलाडीको क्षमतामा थप सुधार ल्याउन सक्दो मेहनत गर्नेछु’, पोखरा राइनोजको स्वामित्व ग्रहण गरेको कम्पनी जगदम्बा स्पोर्टस्ले प्रशिक्षक डोडको भनाइ उद्धृत गर्दै विज्ञप्ति जारी गरेको छ ।

जगदम्बा स्पोर्टस्ले पनि प्रशिक्षक डोडको आगमनले टोलीको प्रदर्शनमा सुधार आउने विश्वास व्यक्त गरेको छ । ‘नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त प्रदर्शन गर्दै आइरहेको छ’, जगदम्बा स्पोर्टस्की प्रबन्ध निर्देशक दीपा अग्रवालले भनेकी छन्, ‘नेपाली खेलाडीलाई अझै पनि राम्रो प्रशिक्षण आवश्यक छ । डोडको आगमनले पोखरा राइनोजका खेलाडीले त्यो स्तरको प्रशिक्षण प्राप्त गर्ने विश्वास लिएकी छु ।’ शक्ति गौचनको कप्तानीमा रहेको पोखराले गत वर्ष इलिमिनेटर खेलेको थियो । उक्त खेलमा ललितपुरसँग २७ रनले पराजित हुँदै पोखरा उपाधि होडबाट बाहिरिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.