समृद्धिको संकथन

समृद्धिको संकथन

१० वर्षअघि जसरी ‘नयाँ नेपाल’ को राजनीतिक संकथनले बजार तताएको थियो, त्यसैगरी अहिले ‘समृद्धि’ को संकथनले राजनीतिक बजार रापिलो छ। अहिले चोक, गल्ली चिया पसल, पुस्तक पसल, सरकारी अड्डादेखि गाउँघरका चौतारी हुँदै विश्वविद्यालय र मन्त्रालयसम्म विकास र समृद्धिकै पैरवी चलेको छ। झन् दुईतिहाइ बहुमतको सरकार बनेपछि त समृद्धिका लयात्मक र काव्यात्मक प्रस्तुतिको ग्रन्थ नै बनिसकेको छ। विकास र समृद्धिका कुरा अब छरपस्टै भए, त्यसैले आवरणमा अब यसको व्याख्या जरुरी देखिएन। तर यसको अन्तरवस्तु भने अझै पनि स्पष्ट हुन सकेको छैन। जब समृद्धिको अन्तरवस्तुको कुरा आउँछ– कस्तो समृद्धि ? कसका लागि समृद्धि भन्ने प्रश्नको पनि सँगसँगै उदय हुन्छ।

नागरिकले समृद्धिको अन्तरवस्तु खोज्दै गर्दा सरकार भने रेल, पानीजहाज, गोबरग्याँस अनि बिजुली बसलाई समृद्धिको मानक बनाउँदै छ। तर ती मूलतः भौतिक विकासका कुरा मात्र हुन्। समृद्धि केवल बाहिरी आवरणमा देखिने भौतिक उपलब्धि मात्र होइन, यो व्यक्तिमा अन्तरनिहित सिर्जनशील क्षमताको प्रस्फुटन र त्यसको बजारीकरण पनि हो। थोरै समय र स्रोतको लगानीबाटै व्यक्तिले आफ्ना आवश्यकता पूरा गर्न सक्नु समृद्धि हो। त्यसैले भौतिक विकाससँगै सामाजिक विकास, आत्मिक विकास, समावेशी विकास, वातावरणीय सन्तुलन र व्यक्तिगत खुसी नै समृद्धिका विषयवस्तु हुन्।

विकास भनेको अपेक्षित दिशातर्फको सकारात्मक परिवर्तन हो। त्यस्तै कुनै पनि निश्चित भौगोलिक एकाइ वा देशको कुल उत्पादन र उपभोगमा हुने वृद्धिले आर्थिक वृद्धिलाई जनाउँछ। जब त्यस्तो आर्थिक वृद्धिले समाजको अर्थराजनीतिक अवयवहरूलाई चलायमान गराउँछ, त्यो विकास हो। त्यसैले विकास एउटा परिवर्तनतर्फको गतिशील प्रक्रिया हो, जहाँ समाज या देशको अर्थ–सामाजिक परिवर्तन सम्बोधित हुन्छ। र, विकासले समाजलाई व्यवस्थित बनाउँदै त्यहाँका मानिसलाई उन्नतितर्फ डोर्‍याउँछ। यद्यपि हामीले विकासलाई जसरी ग्रहण गरेका छौं, त्यो भाष्यले सम्पूर्णतालाई भन्दा पनि अंशलाई अंगीकार गरेको छ। हाम्रो विकासको भाष्यले समाजको संरचनागत परिवर्तन र आम मानिसको दैनिकी फेर्ने कुरा गर्दैन, किन्तु यसले केही पूर्वाधारजन्य क्षेत्रहरूको स्थापना र भौतिक संरचनाहरूको निर्माणलाई संकेत गर्छ।

बाटो, पुलपुलेसा, एयरपोर्ट, जलविद्युत्, ठूला–ठूला भवन इत्यादि बन्नु र त्यहाँ देखिएको झिलिमिली चकाचौधको अवस्थालाई हामीले विकासको रूपमा ग्रहण गरेका छौं। अनि यो विकास आउन राज्य वा दाताहरूले निकै लगानी गरेका हुन्छन्। हामीले कसैको सहयोगमा मात्र यस्तो विकास हासिल गर्न सक्छौं। हो, विकास सन्दर्भमा हामीले निर्माण गरेको धारणा यस्तै छ। अनि विकाससम्बन्धी हाम्रो ज्ञानको सीमा पनि यही हो।

जब विकासलाई एक बहुआयामिक उन्नतिका रूपमा लिइन्छ, तब त्यहाँ विचार, संस्कृति र संस्कारको विनिमयको कुरा आउँछ। समाजमा यस्तो बहुआयामिक पक्षहरूको विनिमय दर जति छिटो हुन्छ, त्यति नै विकास प्रक्रियाले गति लिन्छ। तर विगत हेर्दा, हामी यो विनिमय प्रक्रियामा निकै सुस्त भयौं। परिणामतः हाम्रो विकास प्रक्रियाले पनि गति लिन सकेन। सामाजिक अनुसन्धाता डोरबहादुर बिष्टले झन्डै साँढे दुई दशकअगाडि नै यो विनिमय प्रक्रियाको वाधक पहिचान गरिसकेका थिए। उनले हाम्रो सामाजिक तथा आर्थिक संरचनाभित्र रहेका सामन्तवादी सांस्कृतिक तथा सामाजिक व्यवहारलाई विकासको वाधक ठानेका थिए। तर, हामीले यो निष्कर्षलाई कहिल्यै स्वीकार गरेनौं।

हामीले विकासलाई एक नियमित र गतिशील बहुआयामिक विनिमय प्रक्रिया कहिल्यै ठानेनौं। हामीले विकासलाई त कसैले दिने/दिएको उपहारजस्तो ठान्यौं। र, त्यसैअनुसार व्यवहार पनि देखायौं। त्यसैले इतिहासदेखि अहिलेसम्म हामी विकास मागिरहेका छौं। विकासले आम नागरिकको दैनिकी फेर्नुपर्ने, उनीहरूको जीवन सहज बनाउनुपर्ने, उनीहरूको आयस्तर बढ्नुपर्ने, उनीहरूको जीवनस्तर उकासिनुपर्ने, उनीहरूले सहजै रोजगार पाउनुपर्ने, कम समय र स्रोतमा आफ्ना आवश्यकता पूरा गर्नुपर्ने यी यावत् पक्षहरू हामीले बिर्सिएका छौं। त्यसैले हाम्रो विकास भँडुवा विकासमा परिणत भएको छ। अब यसलाई सही दिशामा ल्याउन सचेत पहल आवश्यक छ।

यो त भयो विकासका कुरा। अब अलिकति समृद्धिका कुरा गरौं। समृद्धि अहिले सबैको प्रिय शब्द बनेको छ। तर, समृद्धिको अन्तरवस्तु खुट्याउन सकिएको छैन। सरकारले देखाएको समृद्धिको खाकामा आवरण त छ, तर अन्तरवस्तु छैन। त्यसैले समृद्धिको संकथन निर्माण गर्दै गर्दा यसका बाह्य र आन्तरिक पक्षहरूलाई आत्मसात गर्न जरुरी हुन्छ।

विकास र समृद्धिको प्रक्रिया कुनै निश्चित समयसीमाका लागि होइन, यो पुस्तौंपुस्तासम्म टिक्ने हुनुपर्छ। स्रोत र साधनको उपयोग सन्तान दरसन्तानले पनि गर्न पाउनुपर्छ।

समृद्धिको पहिलो अन्तरवस्तु हो– पर्याप्त भौतिक पूर्वाधारको निर्माण, उत्पादन र उपभोग। भौतिक पूर्वाधार समृद्धिको हार्डवेयर हो। पर्याप्त मात्रामा पूर्वाधारको विकासले नै उत्पादन र उपभोगको अभिवृद्धि सुनिश्चितता गर्छ। पूर्वाधारको अवस्थाले नै पुँजी निर्माणको गति निर्धारण गर्छ। पुँजी निर्माण प्रक्रियाले अर्थतन्त्रको आयतन निर्धारण गर्छ। अर्थतन्त्रको आयतनले विकास र समृद्धिको स्तर निर्धारण हुन्छ। त्यसैले समृद्धिका लागि पूर्वाधार अनि उत्पादन र उपभोगमा बढोत्तरी अनिवार्य आवश्यकता हो।

दोस्रो अन्तरवस्तु हो– उत्पादनको न्यायोचित वितरण। भौतिक विकास र उत्पादनले मात्र समृद्धिको अवस्थामा पुग्न सकिँदैन। समृद्धि हासिल गर्न राज्य कल्याणकारी पनि हुनुपर्छ। प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अवस्था सिर्जना गरिदिनु राज्यको दायित्व हो। किनकि समाजमा सबै सबल र सक्षम हुँदैनन्। कसैले राज्यलाई दिन्छन् त कोही राज्यमै आ िश्रत पनि हुन सक्छन्। असहाय, वृद्धवृद्धा र केटाकेटीलाई राज्यले यथोचित सम्मानसहित हेर्नुपर्ने हुन्छ। यसका लागि राज्यको धनको न्यायोचित वितरण हुनुपर्छ।

तेस्रो पक्ष हो– स्रोत साधनको सुनिश्चितता र पर्यावरणीय दिगोपना। निश्चित रूपमा विकास र समृद्धि प्रक्रिया कुनै निश्चित समयसीमाका लागि होइन। यो पुस्तौंपुस्तासम्म टिक्ने हुनुपर्छ। स्रोत र साधनको उपयोग सन्तान दरसन्तानले पनि गर्न पाउनुपर्छ। यसर्थ, यो एक अनवरत रूपमा चल्ने प्रक्रिया हो। हामीसँग भएका स्रोतसाधन सीमित छन्, हुन्छन्। त्यसैले स्रोतसाधनको संरक्षणसहितको उपयोगले मात्रै दिगोपनाको सुनिश्चितता गर्दछ। अहिले हामीसँग भएको प्राकृतिक तथा मानवीय स्रोतसाधनको उपयोग भएकै छैन। अनि हामी उपयोगबिनाको संरक्षणको कुरा गरिरहेका छौं, जुन आफैंमा अन्तरविरोधपूर्ण छ। डा. हर्क गुरुङले आफ्नो आलेखमा स्रोतसाधनको उपयोगबिना त्यसको उचित संरक्षण हुन नसक्ने तर्क गर्दै लेखेका छन्, ‘नेपालको वातावरणीय समस्या भनेको विकासको चापले होइन, विकासबाट बञ्चित भएर हो।’

त्यस्तै दिगोपनाले केवल वातावरणीय दिगोपनाको मात्र कुरा गर्दैन, यसले आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक तथा नीतिगत दिगोपनाको पनि सुनिश्चितता गरेको हुन्छ। जब विकास र समृद्धि प्रक्रियाले आम नागरिकको दैनिकीमा प्रभाव पार्छ, अर्थात् धेरैलाई समेट्छ त्यसले यसको गतिलाई बढाउनुका साथै दिगोपनाको सुनिश्चितता प्रदान गर्दछ।

समृद्धिको चौथो अवयव हो– मानवीय खुसी एवं सन्तुष्टि। निश्चय नै भौतिक विकासको अवस्थाले मात्र व्यक्तिमा खुसी आउँदैन। व्यक्ति खुसी र सन्तुष्ट हुन ऊ तनावरहित हुनुपर्छ। तनावरहित हुन सामूहिकतासहितको निजत्वको प्रवद्र्धन हुनुपर्छ। यो व्यक्तिको निजत्वसँग सम्बन्धित पक्ष हो। जब व्यक्तिले आफ्ना आवश्यकता सहजै आपूर्ति गर्ने हैसियत कायम गर्छ र समाजमा आफ्नो पहिचान स्थापित भएको महसुस गर्छ, निश्चय नै व्यक्ति खुसी र सन्तुष्ट हुन्छ।

ब्रिटिस लेखक तथा राजनीतिकर्मी म्याट रिड्लेले पनि आफ्नो बहुचर्चित पुस्तक ‘द र्‍यासनल अप्टिमिस्ट’ मा समृद्धिको यही पक्षलाई जोड दिएका छन्। उनले समृद्धिको नयाँ परिभाषास्वरूप कुनै पनि वस्तु या सेवा प्राप्त गर्दा हुने सहजतालाई नै समृद्धि भनेका छन्। उनको तर्क छ– बेलायतमा आज कुनै व्यक्तिले एक घन्टा अध्ययनका लागि उज्यालो बत्ती प्राप्त गर्न औसत आधा सेकेन्डबराबरको समय काम गर्नुपर्छ, जसका लागि ७० वर्षअघि झन्डै आठ सेकेन्डबराबरको समय काम गर्नुपर्दथ्यो। ७० वर्षमा एक घन्टा अध्ययनका लागि उज्यालो प्राप्त गर्न काम गर्नुपर्ने समय ७.५ सेकेन्डले घटेको छ। हो, यसरी बचत भएको समय नै विगत ७० वर्षको अवधिमा प्राप्त भएको ‘समृद्धि’ हो।

यसको सीधा अर्थ हो– व्यक्तिको दैनिकीमा आउने सहजता नै समृद्धि हो। अर्थात् हरेक व्यक्तिले कति सहज ढंगबाट आफ्नो जीवनयापन गरेको छ ? आफ्ना आवश्यकता कति सहज पूरा गर्न सक्छ ? यी नै समृद्धिका सूचकांक हुन्। के हाम्रो समृद्धिको संकथनमा यस्ता सूचकांक समावेश भएका छन् ?

फेरि पनि लेखक रिडले ‘विचारहरूको सहवास’ (सेक्स अफ आइडियाज्) बाटै नयाँ विचारको जन्म हुने र त्यसले समृद्धि ल्याउने तर्क गर्छन्। जति धेरै विचारहरूको समागम हुन्छ त्यति नै विचारहरूको विनिमय हुन्छ र त्यसले नवीन चिजको जन्म दिन्छ। अमेरिका, बेलायत, सिंगापुर, मलेसिया र पछिल्लो समयको चीन र भारतको समृद्धिको यात्रा हेर्ने हो भने पक्कै पनि त्यहाँ धेरै विचार र विविधताबीचको समागमले नै समृद्धिको आधार तय भएको मान्न सकिन्छ।

जसरी हामीले दैनिक जीवनमा प्रयोग गर्ने आधुनिक औजार निर्माणमा लाखौं मानिसहरूका विचार, मेहनत र लगनशीलता अन्तरघुलित छ, समृद्धिका लागि पनि त्यस्तै धेरै विविधताबीचको समागम आवश्यक हुन्छ। त्यसैले विविधताको अन्तरघुलन नै समृद्धिको आधार हो। अर्थात् विचार, ज्ञान, सीप, भाषा, संस्कृति, भेषभूषा, जीवन पद्धतिका विविध पाटाहरू नै समृद्धिका सफ्टवेयर हुन्।

अब एकपटक सोचौं– के हामीले निर्माण गरिरहेको समृद्धिको संकथनमा यी कुरा परेका छन् ? हामीले जसरी हिजो विकासको विकृत विम्ब निर्माण गर्‍यौं, त्यसैगरी अहिले समृद्धिको विम्ब त बनाउँदै छैनौं ? त्यसैले समृद्धिको संकथनमा यसका हार्डवेयर र सफ्टवेयरलाई गम्भीरतापूर्वक आत्मसात गर्न जरुरी छ। नत्र जसरी सात दसकको राजनीतिक यात्राले हाम्रो विकासलाई भँडुवा विकासमा परिणत गर्‍यो त्यसैगरी अबको केही वर्षभित्रै समृद्धिको पनि चीरहरण हुने निश्चित छ।


[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.