२४ दिनपछि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री

२४ दिनपछि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओली २४ दिनपछि बालुवाटार बाहिर निस्किएका छन्। बिरामी भएपछि कात्तिक १० यता ओली प्रधानमन्त्री निवास बालुवाटारबाहिर सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। सोमबार उनी पार्टीका अर्का समकक्षी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको प्रथम स्मृति दिवसमा दाहाल निवास खुमलटारमा आयोजित श्रद्धान्जली सभामा सहभागी भएका थिए। त्यहाँ उनी सहभागी मात्रै बनेनन्, प्रकाशको व्यक्तित्व र समकक्षी पार्टी अध्यक्ष दाहालको शोकमा धीरज राख्न सक्ने क्षमताको प्रशंसामा भाषण नै गरे।

नेकपा अध्यक्ष दाहालका एक मात्र छोरा प्रकाशको २०७४ मंसिर ३ मा हृदयघातबाट निधन भएको थियो। प्रधानमन्त्री ओली कात्तिक १० गते पार्टीले आयोजना गरेको चाडबाड विशेष शुभकामना तथा चियापानमा समेत अस्वस्थताका कारण सहभागी हुन सकेका थिएनन्। त्यसयता उनी बालुवाटार बाहिर निस्केर सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। उनी कात्तिक ८ देखि बिरामी थिए। उनलाई कात्तिक १२ देखि १६ सम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिएको थियो। त्यसपछि पनि उनी चिकित्सकको सल्लाहका आधारमा निवास बाहिर ननिस्किई बालुवाटारबाटै काम गर्दै आएका थिए।

प्रधानमन्त्रीले यसबीचमा बालुवाटारमै मन्त्रिपरिषद् बैठक राख्नेदेखि फाइल झिकाई अध्ययन गर्ने गरेका थिए। सोमबार प्रकाशको स्मृति सभामा उनले प्रकाशको खबर हुँदा आफूहरू (दाहाल र आफू) झापामा रहेको स्मरण गर्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए।

राजनीतिक विषयमा स्मृति दिवसमा केही नबोल्ने भन्दै उनले प्रकाशको शोक र त्यसपछि दाहाल परिवारले राखेको धैर्यमा मात्र केन्द्रित रहेर झण्डै १० मिनेट सम्बोधन गरेका थिए। अहिले पनि चिकित्सकहरूले उनलाई चिसोबाट बच्न र ओभरलोड हुने गरी अबेर रातिसम्म काम नगर्न सुझाव दिइरहेका छन्।

स्मृति प्रतिष्ठान बनाउने

दाहाल परिवारले छोरा प्रकाशको प्रथम स्मृति दिवसमा दिवंगत छोरा र छोरीको नाममा प्रज्ञा स्मृति प्रतिष्ठान बनाउने घोषणा गरेको छ। प्रतिष्ठान दिवंगत छोरी ज्ञानु र छोरा प्रकाशको नाममा शिक्षा, स्वास्थ्य र अन्य अनुसन्धानात्मक काम गर्न प्रयोग गरिने अध्यक्ष दाहालले बताए।

‘परिवारमा हामीले प्रज्ञा स्मृति प्रतिष्ठान बनाउने निर्णय गरेका छौं। औपचारिकता दिन कानुनी काम भइरहेको छ। प्रतिष्ठानमार्फत रचनात्मक काम गरेर जाने सोचेका छौं’, अध्यक्ष दाहालले भने, ‘अहिले एउटा पुस्तक प्रतिष्ठानकै नामबाट प्रकाशनमा ल्याइएको छ। आउने दिनमा उनीहरूका सम्झनामा शिक्षा, स्वास्थ्यमा र उनीहरूका रुची रहेका अन्य विषयमा अनुसन्धानात्मक कामहरू गर्ने कोसिस गरिनेछ।’

दाहालले प्रकाशको अवसानमा आफ्नो परिवारप्रति सबैले माया, सद्भाव, प्रेम र हौसला नदेखाएको भए परिवार नै विघटन भइसकेको हुन्थ्यो भने। भावुकतामा बोली अवरुद्ध हुँदै उनले सबैको सद्भाव र प्रेरणाले अझ गम्भिरतापूर्वक जिम्मेवारी बोध गर्ने ठाउँमा अहिले रहेको बताए। उनले भने, ‘तपार्इंहरूको सहयोग, सद्भाव, प्रेम र विश्वास हुँदैनथ्यो भने सायद हाम्रो परिवार विघटन भइसकेको हुन्थ्यो। तपाईंहरूको सद्भाव र पे्ररणाले अझ गम्भिरता र जिम्मेवारीवोधका साथ अघि बढ्ने प्रण गरेका छौं।’

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई, राप्रपा नेता लोकेन्द्रबहादुर चन्द, नेकपाकै वरिष्ठ नेता झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, राजपा अध्यक्ष मण्डलका संयोजक महत्थ ठाकुर, मन्त्रीहरू स्मृति सभामा सहभागी थिए। प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको कृति प्रकाश दाहालको सार्वजनिकीकरण पनि गरिएको थियो। उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पुस्तक संयुक्त सार्वजनिक गरेका थिए।

भक्कानिइरहिन् सीता

प्रकाशको स्मृति सभामा मञ्चको अग्रपंक्तिमा पति पुष्पकमलसँगै बसेकी सीता दाहाल भने भक्कानिइरहेकी थिइन्। उनी छोराको निधनको वर्ष दिनमा पनि सम्हालिन नसकेको देखिन्थ्यो। छोरीहरू रेणु र गंगाले उनलाई बेला–बेला मञ्चमै सम्हाल्ने प्रयास गरिरहेका देखिन्थे भने पुष्पकमलले पनि उनलाई सम्हालिरहेका थिए।

प्रकाशको जीवनीको अडियो वाचन, प्रधानमन्त्री र अध्यक्ष दाहालको छोटो सम्बोधनपछि सहभागीहरूलाई फोटोमा माल्यार्पण गरी श्रद्धान्जली दिइएको थियो। तर जब अध्यक्ष दाहाल प्रकाशको तस्बिरमा माल्यार्पण गर्न अगाडि पुगे सीता झन् भक्कानिन थालिन्। उनले श्रद्धान्जली दिन लाग्दा पार्टीका सहयोगीहरूसमेत सम्हालिन सकेका थिएनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.