‘मालदिभ्सले चीनसँगको सम्झौता भंग गर्ने’
माले : मालदिभ्सले चीनसँगको स्वतन्त्र व्यापार सम्झौता भंग गर्ने भएको छ । सत्तारुढ संगठनका प्रमुख नेता मोहम्मद नशीदले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले मालदिभ्सको पूर्ववर्ती सरकारले चीनसँग व्यापार सम्झौता गरेर गल्ती गरेको उल्लेख गरे । नशीद सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता मालदीवियन डेमोक्र्याटिक पार्टीका प्रमुख हुन् । उनले भने, ‘चीन र मालदिभ्सबीच व्यापारिक असन्तुलन निकै छ । यस्तो अवस्थामा स्वतन्त्र व्यापार सम्झौताका बारेमा सोच्न पनि सकिन्न ।’
उक्त सम्झौता एकतर्फी भएको पनि उनले दाबी गरे । चीनले मालदिभ्सबाट कुनै वस्तु आयात नगर्ने र चीनले निर्यात मात्र गर्ने गरेका बेला स्वतन्त्र व्यापार सम्झौताको अर्थ चीनलाई खाली मैदान छोडिदिनु भएको उनको भनाइ थियो । शनिवार राष्ट्रपतिको कार्यभार शुरु गर्दै नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सालहले देशको ढुकुटीमा लुट मचाइएको चर्चा गरेका थिए । अघिल्लो सरकारले चीनसँग ठूलो रकम ऋण लिएर देशमा संकट निम्त्याएको उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति अब्दुल्ला यमीनले गतवर्ष डिसेम्बरमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । विपक्षीको विरोध हुँदाहुँदै पनि सोही महिना उक्त सम्झौता संसद्बाट पारित भएको थियो । सेप्टेम्बरमा भएको निर्वाचनमा यमीनको अनपेक्षित हार भएको थियो ।