अमेरिकी विशेषदूत र तालिबानबीच कतारमा वार्ता

अमेरिकी विशेषदूत र तालिबानबीच कतारमा वार्ता

इस्लामाबाद : अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा वार्ता गरेको तालिबानी अधिकारीले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिपछि कतारमा राजनीतिक कार्यालय खोलेका छन् ।

कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारहरूसँग भने, ‘मैले वार्तामा बस्न चाहने सबै अफगानी समूहहरूसँग छलफल गरिरहेको छु र मेरो विचारमा अहिले मेलमिलाप र शान्तिको अवसर आएको छ ।’

‘अफगान सरकारले पनि शान्ति चाहेको छ’, उनले भने, ‘तालिबानीहरूले भनिरहेका छन्, उनीहरूको विश्वासमा युद्धका भरमा सफल हुन सकिँदैन । शान्तिपूर्ण, राजनीतिक मेलमिलापका आधारमा अफगानिस्तानको समस्या समाधान गर्नुपर्छ भन्ने उनीहरूको भनाइ छ ।’

अमेरिकी शान्तिदूतका रुपमा खलिलजादको नियुक्ति भएसँगै शान्ति प्रक्रियाका विषयमा तीव्रता आएको छ । शान्ति स्थापनासँगै अफगानिस्तानमा अमेरिकी सैनिक उपस्थिति अन्त्य पार्ने खलिलजादको मुख्य जिम्मेवारी हो । अमेरिकी नेतृत्वको फौजले तालिबान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिबान विद्रोहीको नियन्त्रणमा छ । तालिबानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहती भइरहेको छ ।

अमेरिकी प्रशासनले तालिबानसँग राजनीतिक समाधानका लागि हाल प्रयत्न गरेको देखिएको छ । तालिबानले लामो समयदेखि राखेका केही माग उसले पूरा गरिदिएको छ । अहिले अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ताको ढोका खुलेको छ । अमेरिकाले अनुरोध गरे पनि तालिबान विद्रोहीले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । पश्चिमा मुलुकको आडमा बनेको बनेको ‘कठपुतली’ सरकार भन्दै सरकारको आलोचना गर्दै आएको छ ।

यहीबीच पाकिस्तानले पनि तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादर समेतका केही उच्च तालिबानी नेताहरूलाई कारागारमुक्त गरेको छ । अमेरिकी अनुरोधमा पाकिस्तानले यो काम गरेको विश्वास छ ।

खलिलजादले पछिल्ला वार्ताले आफू आशावादी भएको बताए । ‘अफगानिस्तानको भविष्यको मार्गचित्र’ भनिएको शान्ति प्रयासले अफगानिस्तानका परस्पर विरोधी समूहलाई एकै ठाउँमा ल्याउने खलिलजादले विश्वास व्यक्त गरे । मार्गचित्रको स्वरूप कस्तो हुन्छ र महिला अधिकार तथा कानुनको शासन समेतका अधिकारको प्रत्याभूति कसरी हुनेछ भन्ने कुरा अफगानीहरूले नै निर्णय गनुपर्ने उनले स्पष्ट पारे ।

अमेरिकाले पुरुष र महिलाको समान अधिकारका लागि स्पष्ट आवाज उठाउँदै आए पनि अफगानी जनताको निर्णय महत्वपूर्ण हुने उनले बताए । उनले अमेरिकाले जतिसक्दो चाँडो अफगान युद्ध अन्त्य भएको चाहेको खुलासा गरे । विशेषदूत खलिलजादले आगामी वर्षको अप्रिल २० तारिखका लागि तोकिएको राष्ट्रपतिको निर्वाचनअघि नै सहमतिमा हस्ताक्षर गर्न सके सबैको हितमा हुने उनको भनाइ छ ।

यसै महिनाको शुरुमा जारी गरिएको लामो वक्तव्यमा तालिबानले आफ्नो समूहका नेताहरूमाथि लागेका प्रतिबन्ध फुकुवा गर्न, थुनामा रहेका आफ्ना नेता तथा कार्यकर्ता मुक्त गर्न तथा कतारमा रहेको आफ्नो कार्यालयलाई मान्यता दिन माग गरिएको थियो । अफगान सरकारले भने कतारमा कार्यालय खोल्ने बारेमा असहमति जनाएको छ । तालिबानले विगतमा यो कार्यालयलाई अफगानिस्तानको निर्वासित सरकारको रूपमा घोषणा गरेका थिए ।

अमेरिकी विशेषदूत खलिलजादले पछिल्ला दिनमा क्षेत्रको भ्रमण गरिरहेका छन् । काबुलमा आयोजित बैठकहरूमा खलिलजादले अफगान राष्ट्रपति असरफ घानीलाई वार्ताको नतिजा स्वीकार गर्नेतर्फ दबाब दिने विश्वास गरिएको छ । यद्यपि यो वार्ताप्रति अफगान सरकारभित्रै मतभिन्नता छ । २३ को मृत्यु, २० घाइते

फराह ः अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । फराह प्रान्तमा गत चौबीस घण्टामा भएका विभिन्न घटनामा तीन दर्जनभन्दा बढी लडाकु मारिएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले बताए । मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरूले खाक ए सफिद जिल्लामा आइतबार बिहान तालिबान लडाकुहरूविरुद्ध जवाफी आक्रमणपछि २३ जनाको शव भेटिएको जानकारी दिए । उनले भिडन्तमा २० जना लडाकु घाइते भएको र २५ जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिए । घटनाका बारेमा तालिबान लडाकुका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.