पुरानो भत्काइयो नयाँ बनाउन उदासीन
पोखरा : पोखरा रंगशालामा रहेको फुटबल प्यारापिट भत्काइएपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालनमा समस्या परेको छ । नयाँ प्यारापिट बन्ने निश्चित नभई अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्ने भन्दै २०७४ साल पुसमा भीआईपी र दर्शकदीर्घाको प्यारापिट भत्काइएपछि पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालनमा समस्या परेको हो ।
सन् २०१९ मा नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पोखरा रंगशालामा महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने योजना छ । त्यसैका लागि अन्तर्राष्ट्रिय स्तरको २५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने भन्दै पुरानो प्यारापिट जिल्ला खेलकुद विकास समितिले ४१ लाख खर्च गरी भत्काएको हो । पोखरा रंगशालामा २०३९ सालमा दोस्रो राष्ट्रिय खेलकुद सञ्चालनका लागि फुटबल स्टेडियम निर्माण भएको थियो ।
पोखरामा दुई ठूला फुटबल प्रतियोगिताको तयारी भइरहँदा प्यारापिट भत्काएर अलपत्र छाड्दा प्रतियोगिता सञ्चालनमै समस्या आएको जानकारी सहारा क्लब पोखराका अध्यक्ष केशव थापाले दिए । ‘भइरहेको प्यारापिट भत्काउने तर, नयाँ बनाउन चासो नदिँदा प्रतियोगिता सञ्चालनमा समस्या परेको छ । अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्दा चाहिने सामान्य पूर्वाधार प्यारापिट, चेन्जिङ रुम र शौचालय पनि भत्काइएको छ । त्यसैले प्रतियोगिता सञ्चालनमा अप्ठ्यारो परेको छ’, उनले भने ।
प्यारापिट भत्काइएकाले माघको दोस्रो साता आयोजना गर्ने तयारी भइरहेको ‘मनकामना केवलकार फुटबल प्रतियोगिता’मा समेत समस्या परेको जानकारी कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले दिए । ‘प्यारापिट भत्काइएका कारण दर्शक बस्ने अस्थायी प्यारापिट बनाउनु पर्यो । अस्थायी शौचालय, चेन्जिङ रुमसमेत बनाउँदा १६ लाख बढी खर्च बढ्ने भएको छ । ग्राउन्ड मर्मत गर्न, दूबो रोप्ने र गोड्ने काममा पाँच लाख रुपैयाँ छुट्टै लाग्छ’, उनले भने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वाधार तथा निर्माण शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्यायले दोस्रो पटकको टेन्डरअनुसार स्टेडियम निर्माणको काम अघि बढिरहेको बताए । ‘स्टेडियम निर्माणका लागि यो वर्ष ५३ करोड रुपैयाँ निकासा भए पनि अर्को वर्ष कति रकम निकासा हुने हो भन्ने निश्चित नभएकाले टेन्डरको काम रोकिएको हो’, उपाध्यायले भने । पोखरा फुटबल स्टेडियम एक अर्ब ३३ करोड रुपैयाँको लागतमा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएको थियो ।
पोखरामा फुटबल खेल निकै लोकप्रिय छ । फुटबलका प्रतियोगिताहरू हुँदा रंगशालामा ठूलो संख्यामा दर्शकको उपस्थिति रहने गर्छ । सहारा क्लबको आयोजनामा पोखरामा अन्तर्राष्ट्रियस्तरको आहा रारा फुटबल प्रतियोगिता पनि सञ्चालन हुँदै आएको छ । सहारा क्लबले २०५८ सालमा पहिलो पटक क्याराभान फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि २०५९ सालदेखि लगातार आहा रारा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ ।