बुधबार प्रदेश २ मा सार्वजनिक बिदा
धनुषा : प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेशका आठवटै जिल्लामा बुधबार मोहम्मदको जन्म दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी गराएको छ ।
सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
प्रदेशसभा बैठक ४० दिनपछि
प्रदेशसभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मङ्सिर ७ गते बस्ने भएको छ। असोज २८ गते स्थगन भएको अधिवेशन लामो अन्तरालपछि बस्न लागेको हो।
मङ्सिर ७ गते संसद्को बैठक डाकिएको प्रदेश सभामुख सरोजकुमार यादवले बताए। सरकारले केही बिल टेबुल गराएकाले संसद्मा विजनेश रहेको सभामुख यादवले बताए।
अन्य प्रदेशमा दोस्रो अधिवेशन समाप्त भइसकेको छ। बजेट अधिवेशन समाप्त भइ हिउँदे अधिवेशन प्रारम्भ हुने समय नजिकिएको बेला प्रदेश नं २ मा भने जारी नै रहेको छ। रासस