पाकिस्तानी प्रधानमन्त्रीको प्रश्न : महाशय ट्रम्प ! तालिबान झनै शक्तिशाली भयो किन ?
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानबारे दिएको एक अभिव्यक्तिपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान ट्रम्पप्रति आक्रोशित बनेका छन् ।
इमरानले हालै ट्रम्पको नाम नै उच्चारण गरी उनले आफ्नो इतिहास सम्झनुपर्ने भन्दै कटाक्ष गरे । वासिङ्टनको नेतृत्वमा भएको ‘वार अन टेरर’ मा इस्लामाबादले समर्थन नदिएको पुरानो इतिहास ट्रम्पले सम्झनुपर्ने भन्दै इमरानले आक्रोश व्यक्त गरेका छन् ।
ट्वीटरमा केही दिनयता जारी विवादका बीच इमरानले सोमबार ट्रम्पप्रति आक्रोश व्यक्त गरेका हुन् । उनीहरुबीच ‘वाकयुद्ध’ नै भएको छ । ट्रम्पले पाकिस्तानी सेनालाई करोडौं डलर सहायता रोक्ने भन्दै ट्वीट गरेको भोलिपल्टै इमरानले असन्तुष्टि पोखेका हुन् ।
ट्रम्पले यसअघि आफ्नो ट्वीटरमा लेखेका थिए, ‘पाकिस्तानलाई अब हामी अर्बौँ डलर सहायता गर्ने छैनौँ । किन कि, उनीहरु हाम्रो पैशा लिन्छन् र हाम्रो लागि केही गर्दैनन् । बीन लादेन नै एक प्रमुख उदाहरण हो, त्यस्तै अफगानिस्तान । तिनिहरु त्यस्ता देश हुन्, जो अमेरिकाबाट सित्तैमा लिइरहन्छन् मात्रै । जुन अब बन्द हुँदै छ !’
खानले भने ट्रम्पको चेतावनीपछि कडा प्रतिक्रिया दिँदै थुप्रै पाकिस्तानीहरुले अमेरिकाको ‘वार अन टेरर’को अवधिमा ज्यान गुमाउनु परेको भन्दै स्मरण गराएका छन् ।
खानले भनेका छन्, ‘सेप्टेम्बर ११ घटनामा कुनै पनि पाकिस्तानी आवद्ध थिएन । तर पाकिस्तानले अमेरिकाको वार अन टेररमा सहभागी हुने निर्णय गर्यो । जुन युद्धमा ७५ हजार पाकिस्तानी घाइते हुनुपर्यो । साथै पाकिस्तानी अर्थतन्त्रमा खर्बौँ रकम नोक्सान भयो । जब कि अमेरिकी सहायता यसको तुलनामा थोरै छ ।’ खानले ‘आफगानिस्तान युद्धमा अमेरिकाले पाकिस्तानलाई ‘बलिको बोको’ बनाएको’ भन्दै आक्रोश व्यक्त गरेका छन् । जब कि, तालिवान २००१ मा अमेरिकाले आक्रमण गर्नेबेला भन्दा पनि शक्तिशाली बनेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘आफ्नो असफलतामा पाकिस्तानलाई बलिको बोको भनाउनुको सट्टा अमेरिकाले गम्भीर मुल्यांकन गर्नु जरुरी छ, १ लाख ४० हजार नाटो सेना, २ लाख ५० हजार अफगानी सैनिक र अफगानिस्तान युद्धमा १ खर्ब रकम खर्च गर्दा पनि आज तालिबान पहिले भन्दा झन शक्तिशाली किन भए ?’
खानले युद्धमा कसरी लाखौं पाकिस्तानीहरुले आफ्नो घरबाट भाग्नुपर्यो ? भन्दै ट्रम्पलाई सोधेका छन् । र त्यस्तो अवस्थामा पनि आफ्नो देशले अमेरिकालाई सघाइरहेको बताएका छन् । उनले फेरि सोधेका छन्, ‘हामी जस्तै बलिदानी दिने अर्को मित्रराष्ट्रको नाम महाशय ट्रम्पले भन्न सक्छन् त ?’
फक्स न्युजको एक अन्तरवार्तामा ट्रम्पले आइतबार पाकिस्तानले अमेरिकाको केही नगरेको बताएका थिए । बिन लादेनलाई आश्रय दिएको भन्दै पाकिस्तानलाई उनले फेरि आरोप लगाएका थिए ।