विमल फेरि ट्रायल दिन बेल्जियम जाने, च्यासल छाडे
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगर व्यावसायिक फुटबलको ट्रायल दिन बेल्जियम जाने भएका छन् । छिट्टै बेल्जियम जान लागेका विमलले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासल पनि छाडिसकेका छन् । विमल मंगलारदेखि नै च्यासलको प्रशिक्षणमा नआएको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले बताए ।
विमलले आफू बेल्जियम जान लागेको भन्दै फुकुवा मागेकाले उनलाई स्वीकृति दिइएको क्लबले जनाएको छ । विमलले यसअघि पनि बेल्जियमको आरएससी एन्डरलेच्टबाट खेलेका थिए ।
उनले स्पेनको मार्बेला युनाइटेड क्लबमा पनि ट्रायल दिएका थिए । मार्बेलामा भने उनी असफल भएका थिए । विमललाई च्यासलले चाहेको बेला फुकुवा हुन पाउने सर्तमै अनुबन्ध गरेको थियो ।
विमलको अनुपस्थितिले पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासललाई केही गाह्रो पर्ने देखिएको छ । ‘टोलीमा भर्खर मात्र स्ट्राइकर सन्तोष साहुखललाई अनुबन्ध गरेका छौँ । स्ट्राइकिङ लाइनमा अन्य विदेशी खेलाडी पनि राख्ने तयारी छ,’ प्रशिक्षक शाक्यले भने ।
च्यासल ‘बी’ डिभिजनको विजेता बन्दै गत वर्ष ‘ए’ डिभिजनका उक्लिएको हो । च्यासलले लिगमा दुई खेल खेलेको छ । च्यासलले आफ्नो पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग १–० गोलले पराजित भएको थियो । लिगमा एक अङ्क बनाएको च्यासल अहिले तालिकाको नवौँ स्थानमा छ ।
लिगमा दोस्रो चरणको खेल सकिदा शीर्ष स्थानमा रहेको थ्रीस्टारको ६ अङ्क छ । समान ६ अङ्क बनाएको मनाङ मस्र्याङ्दी र संकटा क्लब गोल अन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । त्रिभुवन आर्मी, एपीएफ, पुलिस र हिमालयन शेर्पाले चार चार अङ्क बनाएका छन् ।
दुई बराबरी खेलेको मच्छिन्द्रको दुई अङ्क छ । एनआरटीले एक अङ्क बनाएको छ भने फ्रेन्ड्स, सरस्वती, जाउलाखेल र ब्रिगेड ब्वाइज क्लबले खाता खोल्न सकेका छैनन् ।