लालबन्दीमाथि बलराको सहज जित
मलंगवा : सर्लाहीको मलंगवामा सर्लाही क्रिकेट संघले आयोजना गरेको दोश्रो मेयर कप क्रिकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा बलरा नगरपालिकाले लालबन्दी नगरपालिकालाई ४ विकेटले पराजित गरेको छ।
मलंगवाको जिल्ला खेलकुद विकास समितिको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको लालबन्दी नगरपालिकाले निर्धारित २० ओभरमा ८९ रन बनाएका थिए।
लालबन्दीको लागि इरफान अन्सारीले सर्वाधिक १८ रन बनाएका थिए। लालबन्दीलाई कम रनमै समेट्नका लागि बलराका रवि कुमारले ४ विकेट हात पारेका थिए।
९० रनको लक्ष्य पक्ष्याउनु मैदानमा आएका बलराले १९ दशमलव १ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेका थिए। बलराका लागि मुकुल कुमारले सर्वाधिक १३ रन बनाएका थिए।
खेलको म्यान अफ द म्याच बलराको सर्वाधिक विकेट लिने रविलाई प्रदान गरिएको छ। बुधवारको खेल लालबन्दी र मलंगवा ग्रीनको बीच हुने आयोजक कमिटीका सदस्य सिदार्थ यादवले जानकारी दिए।
सोमवारदेखि भएको खेल मंसिर ११ गतेसम्म चल्ने छ। प्रतियोगिताको विजेतालाई नगद ५० हजार, कप, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।