नेकपा पोलिटब्युरो गठनको प्रस्ताव तयार पारिँदै

नेकपा पोलिटब्युरो गठनको प्रस्ताव तयार पारिँदै

काठमाडौं : नेकपाले पोलिटब्युरो गठनको तयारी थालेको छ। प्रदेश सदस्यको नाम चयन र केन्द्रीय सदस्यको कार्यविभाजन प्रस्ताव बनाउने जिम्मा पाएको कार्यदलले नै पोलिटब्युरोको प्रस्तावसमेत तयार पार्न थालेको छ। आगामी पार्टी बैठकबाट पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, प्रदेश कार्यसमितिको पूर्णतालगायत संगठनात्मक सबै काम छिनोफानो गर्नुपर्ने भएकाले कार्यदललाई नै पोलिटब्युरोको प्रस्ताव पनि तयार पार्ने जिम्मा दिइएको हो। नेकपा सचिवालय बैठक बिहीबार बस्ने तयारी हुँदैछ।

‘कार्यदलले पोलिटब्युरोको पनि प्रस्ताव तयार पार्छ’, स्थायी समिति सदस्य वेदुराम भुषालले भने। तर नेताहरूबाटै पोलिटब्युरो गठन नगरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा प्रक्रिया उल्टो हुने धारणा सार्वजनिक हुन थालेपछि पोलिटब्युरोको प्रस्ताव बनाउने जिम्मा पनि कार्यदललाई दिइएको हो।

कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन्। ८ कात्तिकको सचिवालय बैठकले कार्यदल गठन गरेको थियो। पोलिटब्युरोको जिम्मेवारी थपिएपछि कार्यदलका दुई नेताले मंगलबार छलफल गरे। उनीहरू गृहमन्त्रीसमेत रहेका थापाको पुल्चोकस्थित मन्त्री निवासमा आन्तरिक तयारीका लागि गोप्य छलफलमा बसेका थिए। ‘कार्यदलको जिम्मेवारी अनुसारको काम गर्न अन्तिम तयारीमा बसिएको हो’, कार्यदल स्रोतले भन्यो, ‘बुधबार पनि बैठक बस्छ।’

नेकपाले विधानअनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको एक तिहाइ अर्थात् १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्नुपर्नेछ।

नेकपाले विधानअनुसार ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको एक तिहाइ अर्थात् १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्नुपर्नेछ। पोलिटब्युरो गठन गर्दा नेकपाका पूर्वघटक पार्टीबीच भागबन्डा भइसकेको छैन। ‘पोलिटब्युरोमा पूर्वघटक पार्टीका के कति संख्यामा नेताहरू रहने गरी बनाउने भागबन्डा भने टुंगिसकेको छैन’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

स्रोतका अनुसार १ सय ४७ सदस्यीय पोलिटब्युरोमा पूर्वमाओवादीले ६२ देखि ६५ सम्म र एमालेबाट ८२ देखि ८५ संख्यामा पर्ने गरी भागबन्डाको तयारी हुँदैछ। तर पूर्वमाओवादी घटकले भने ६८ माओवादी र ७९ एमालेलाई हुने गरी भागबन्डा गर्न सकिने अनौपचारिक प्रस्ताव गरेको छ। ‘केन्द्रीय समिति ५५ र ४५ प्रतिशतका आधारमा भागबन्डा लगाइएकाले पोलिटब्युरो पनि सोही आधारमा भागबन्डा गरी गठन हुन सक्छ’, स्थायी समिति सदस्य भुषालले भने।

यस्तो बन्छ पोलिटब्युरो

तत्कालीन एमालेमा १५ पदाधिकारी, पदाधिकारीसहित थप १६ स्थायी समिति र स्थायी समितिका सबै सदस्यसहित थप २४ पोलिटब्युरो र थप १५ वैकल्पिक गरी कुल ६५ जनाको पोलिटब्युरो कमिटी थियो। ‘अहिले गठन हुने पोलिटब्युरोमा ती सबै नेता स्वतः समाविष्ट हुन्छन्’, भुषालले भने। तत्कालीन एमालेको पोलिटब्युरोमा रहेका ३ नेता नेकपाको पार्टी कमिटीमा बस्न पाउँदैनन् भने ३ जना पोलिटब्युरो सदस्य छन्। पोलिटब्युरो सदस्य गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सानु श्रेष्ठ प्रदेश ३ को सभामुख र वैकल्पिक पोलिटब्युरो सदस्य अग्नि खरेल महान्यायाधिवक्ता रहेकाले उनीहरू पार्टी कमिटीमा बस्न पाउँदैनन्।

यसो हुँदा पूर्वएमालेका ६२ नेता स्वतः पोलिटब्युरोमा पर्नेछन्। थप २० नेताले पनि तत्कालीन एमालेका तर्फबाट पोलिटब्युरोमा स्थान पाउनेछन्। तर त्यसरी जिम्मा पाउने थप २० जनामा यसअघि एक कार्यकाल केन्द्रीय सदस्य भइसकेकाबाट पर्नेछन्। ‘विधानमै पोलिटब्युरो सदस्य हुन यस अगाडि एक कार्यकाल केन्द्रीय सदस्य भइसकेको हुनुपर्ने प्रावधान छ। त्यही आधारमा छनोटमा पर्छन्’, भुषालले भने।

तर तत्कालीन माओवादीतर्फ भने पोलिटब्युरो चयन गर्न सकस छ। उसको तत्कालीन केन्द्रीय समितिदेखि अन्य संरचना ठूलो रहेकाले सचिवालयका ३० देखि ३५ नेता एकीकृत पार्टीको पोलिटब्युरोमा पर्ने छैनन्। तत्कालीन माओवादीको सचिवालय ९९ सदस्यीय थियो। तीमध्ये ६२ देखि ६५ जना नेता पोलिटब्युरोमा पर्ने भएपछि अन्य नेता केन्द्रीय समितिमै खुम्चिनु पर्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.