शनिबारदेखि दक्षिण एसियाली शारीरिक सुगठन
काठमाडौं : प्रथम दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ । एसियन बडिबिल्डिङ एन्ड फिटनेस संघको आयोजनामा नेपालले गर्ने प्रतियोगितामा दक्षिण एसियाका आठवटै राष्ट्रको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने प्रतियोगितामा पुरुष बडिबिल्डिङतर्फ ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी र ८५ केजीभन्दा माथिको तौलसमूहमा प्रतिस्पर्धा हुँदैछ । यसैगरी पुरुष फिजिक स्पर्धामा एक सय ६८ सेमी माथि र एक सय ७१ सेमीमाथि प्रतिस्पर्धा हुनेछ । यसैगरी महिला फिजिकमा एक सय ६२ सेमी तथा त्योभन्दा माथिको सेमीमा प्रतिस्पर्धा हुनेछ।
मंसिर ९ गतेसम्म हुने प्रतियोगिता नेपालमा हुन लागेको पहिलो दक्षिण एसियाली प्रतियोगिता भएको नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेसका अध्यक्ष शिव लामिछाने विकले जानकारी दिए । प्रतियोगितामा आठवटै राष्ट्रको एक सय बढी खेलाडीको सहभागिता रहने सदस्यसचिव लोकेन्द्र परियारले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार हरेक तौलसमूहमा नेपालका दुई-तीन जना खेलाडीले समेत प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगिताका हरेक तौलसमूहका विजेताले आकर्षक पुरस्कार पाउनेछन् ।