समितिप्रति सांसद नै उदासीन

समितिप्रति सांसद नै उदासीन

काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठक गणपूरक संख्या नपुग्दा मंगलबार स्थगित भयो। सोमबार बिहान अर्थ समितिको बैठक बोलाइएको थियो। बिहान आवश्यक संख्या नपुगेपछि दिउँसो मात्रै समितिको बैठक बस्यो। गणपुरक संख्या नपुगेर बारम्बार संसदीय समितिको बैठक स्थगित हुने गर्छ। समिति सचिवालयले बैठक बोलाउँछन्। तर सांसद आउँदैनन्। यो पुरानो रोग हो।

समितिले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउँछ। सरकारबाट भए–गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह पनि दिन्छ। त्यसैले यसलाई ‘मिनी पार्लियामेन्ट’ भनेर चिनिन्छ। यस्ता बैठक समेत गणपूरक संख्या नपुगेर स्थगित हुनुले सांसद नै समितिप्रति उदासीन रहेको देखिन्छ। ‘गणपूरक संख्या नपुग्दा बैठक स्थगित भयो,’ विकास समिति सभापति कल्याणी खड्काले भनिन्, ‘माननीयहरु निर्वाचन क्षेत्रको बजेट विनियोजन गर्न जिल्ला गएको र चाडपर्व भर्खरै सकिएकाले उपस्थिति न्यून भएको हो।’

विकास समितिमा पुनःनिर्माण प्रगतिबारे छलफल गर्ने तय थियो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पदाधिकारीलाई समेत बोलाइएको थियो। बिहान ११ बजे हुने बैठकमा आधा घण्टाअघि नै प्राधिकरणका कार्यकारी प्रमुखसहित उच्च अधिकारीहरु समितिको हलमा पुगिसकेका थिए। तर सांसद उपस्थित नभएपछि समिति सभापति खड्काले बैठक स्थगित गरिन्।

बैठक सञ्चालनका लागि समितिको तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुनुपर्ने प्रावधान छ। गणपूरक संख्या नपुगेर लगातार दुई पटक स्थगित भए तेस्रो बैठकमा भने एक चौथाई सदस्यले मात्रै बैठक गर्ने सक्ने नियमावलीमा उल्लेख छ। ‘समितिको महत्वलाई सांसदहरुले नजरअन्दाज गर्दा यो समस्या देखिएको हुन सक्छ’, पूर्वमन्त्री एवं एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अन्नपूर्णसँग भने। उनले संसदीय समितिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। ‘समितिमा बोलेर के हुन्छ भन्ने सांसदलाई लाग्न सक्छ,’ उनले भने, ‘तर सरकारको कामलाई निगरानी गर्ने जिम्मेवारी समितिको हो। समितिलाई प्रभावकारी र क्रियाशील बनाउन सांसदहरु स्वयं क्रियाशील हुनुपर्छ।’

संसदीय समितिहरूले छलफलका लागि मन्त्रीसहितका उच्च अधिकारी बोलाए पनि बैठक स्थगित हुने गर्छ। अर्थमन्त्रालयले सोमबार पुँजीगत खर्चबारे छलफल गर्न अर्थमन्त्री र भौतिक मन्त्रीलाई बोलाएको थियो। दुवै मन्त्री आफ्ना मन्त्रालयका उच्च अधिकारीसहित समितिको हलमा पुगेपनि गणपूरक संख्या नपुगे पछि फर्किनुपरेको थियो।

‘समितिले समन्वय नगर्दा पनि यस्ता समस्या आउँछन्’, पूर्व सभामुख एवं नेकपा सांसद ओनसरी घर्तीले भनिन्, ‘बैठक बोलाउनुअघि समयको समन्वय गर्दा राम्रो हुन्छ।’ अधिकांश सांसद काठमाडौं बाहिर रहेकाले समितिमा गणपूरक संख्या नपुगेको उनले बताइन्।

‘संसद् पनि छैन, यस्तो बेला प्राय सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा हुन्छन्’, उनले भनिन्, ‘संसद सुरु भएपछि कोरम नपुग्ने स्थिति नआउला।’ सभामुख कृष्णबहादुर महराले समितिलाई प्रभावकारी बनाउन जोड दिँदै आएका छन्। सभामुख महराले संसदीय समितिका सभापतिको बैठक बोलाएर समितिलाई क्रियाशील र प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.