साउदीबाट आएन आमाको शव
भद्रपुर : झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशिला श्रेष्ठको ६ वर्षअघि साउदी अरबमा मृत्यु भएको थियो। तर, परिवारले उनको शव अझै ल्याउन सकेको छैन। ‘आमाको आत्मा कति भड्किएको होला यतिका वर्षसम्म’, भित्तामा भद्रशिलाको तस्बिर हेरेर आँसु झार्दै बोलिरहेका थिए नीरज श्रेष्ठ, ‘यसपटक पनि आमाको शव ल्याउन सकिनँ।’
पति हंशराजको निधनपछि छोराछोरी हुर्काउन गाह्रो भएपछि भद्रशिला २०६५ सालमा साउदी गएकी थिइन्। ‘आमा जाँदा दिदी, म र भाइ सानै थियौं, पढ्दैथ्यौं’, नीरजले भने, ‘पछि व्यवहार आफ्नै टाउकोमा आएपछि पढाई छाड्यौं।’ उनका अनुसार भद्रशिलाले गएको तीन महिनामा २४ हजार रुपैयाँ पठाइन्। त्यसपछि चार वर्षसम्म न पैसा आयो न त खबर नै। ‘२०६९ पुस ३० गते आमाको मृत्यु भएको खबर पायौं’, उनले भने, ‘सुरुमा एक–दुईपटक कुरा भएको थियो। आमाले अस्पतालमा काम गर्छु भन्नुभएको थियो।’
अस्पतालमा काम गर्ने नेपालीले शव पहिचान गरी फोनमार्फत खबर दिएको उनको भनाइ छ। ‘गत शनिबार आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि काठमाडौं गएको थिएँ’, उनले भने, ‘तर, खाली हात फर्किनुपर्यो।’ अन्तिम समयमा शव ढुवानी रद्द भएको खबर त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्स कार्यालयले दिएको उनले सुनाए।
भद्रशिलाको शव मंसिर ३ गते बेलुका ८ बजे इत्तेहाद एयरलायन्समार्फत काठमाडौं ल्याउने भनिएको थियो। कागजात नपुगेको जानकारी एयरलायन्सले दिएको हो। उनले पटक–पटक काठमाडौं धाए। तर, शव नआउनुको कारण थाहा नभएको उनले बताए। मृत्युको खबर पाएलगत्तै उनले आफन्त र छिमेकी लगाएर सरकारी निकाय गुहारेका थिए।
आमा विदेश गएपछि जेठा छोरा नीरजले धेरै उत्तारचढाव भोेगे। दिदीको बिहे भइसकेको थियो। आफ्नो बिहे गरे। ११ महिनाअघि भाइलाई कतार पठाए। ‘शोकले मात्र पनि जिउन नसकिने रहेछ’, उनले भने, ‘बाँच्नकै लागि भए पनि कर्म गर्नुपर्ने रहेछ।’ उनलाई आमा कुन म्यानपावरबाट विदेश गएको भन्ने थाहा छैन। ‘त्यस बेला हामी बुझ्ने भएका थिएनौं’, उनले भने, ‘पछि बुझ्न खोज्दा पत्ता लागेन।’ उनले शव ल्याउन सहयोग गरिदिन सरकारसमक्ष माग गरेका छन्। ‘हामीले आमाको अन्त्येष्टि गर्न अझै कति वर्ष कुर्नुपर्ने हो? ’, उनले भने, ‘शव ल्याउन नेपाल सरकारले पहल गरिदेओस्।’