घरजग्गा बन्धकी राखेर उपचार

घरजग्गा बन्धकी राखेर उपचार

जनकपुरधाम :  ठक्कर दिने सवारीधनीले वास्ता नगर्दा धनुषाका एक व्यक्ति घरजग्गा बन्धकी राखेर उपचार गर्न बाध्य भएका छन्। जनकपुर उपमहानगरपालिका–८ का नजिर कवाडीले घाइते छोरा रजामुद्दिन राइनको उपचार गराइरहेका हुन्। नकटाझिज विश्वकर्मा चोकबाट दक्षिण जनकपुर–ढल्केवर खण्डमा गत भदौ ७ गते साँझ जिपको ठक्करबाट रजामुद्दिन घाइते भएका थिए।

मोटरसाइकल चढेर घर जाँदै गर्दा ना.३च ८११३ नम्बरको जिपले ठक्कर दिएको थियो। घाइतेलाई तत्काल जनकपुर अञ्चल अस्पताल लगियो तर उपचार सम्भव भएन। थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पु¥याइयो। अवस्था झन् बिग्रियो। चिकित्सकको सल्लाहअनुसार पीडित परिवार २२ वर्षीय राइनलाई काठमाडौं लैजाने निष्कर्षमा पुग्यो। ढिलो गरी काठमाडौं लगे ज्यान नबच्ने भनाइले परिवार थप चिन्तामा प¥यो। हतार–हतार ऋण लिएर हेलिकोप्टर चार्टर गरी ग्रान्डी अस्पताल पु¥याइयो। अझै अवस्था चिन्ताजनक रहेको उनका दाजु अलिमुद्दिनले बताए।

उनका अनुसार घाइते बोल्न सक्ने अवस्थामा छैनन्। दायाँ खुट्टामा स्टिल लगाइएको छ। शरीरका विभिन्न भागमा चोट लागेको छ। उठबस गर्न नसक्दा शौचालय जान सक्दैनन्। तीन महिनादेखि ३५ लाखभन्दा बढी रकम खर्च भइसकेको छ। तर, ठक्कर दिने सवारीधनीले एक रुपैयाँ पनि सहयोग गरेको छैन। भने, ‘भएको सबै घर तथा जग्गा बन्धकी राखेर लिएको ऋण पनि खर्च भइसक्यो। अब कसरी उपचार गराउने ? ’

गाडीका धनी क्षिरेश्वरनाथ नगरपालिका–५ का सुरेन्द्र प्रधान हुन्। चालक अनुमतिपत्रसमेत नलिएका उनले जिप चलाउँदा दुर्घटना भएको थियो। तत्कालै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जिप र चालक प्रधानलाई नियन्त्रणमा लियो। जिप प्रहरी कार्यालयमा छ भने प्रधानलाई प्रहरीले छाडिसकेको छ। अलिमुद्दिनले भने, ‘भाइको अवस्थाबारे कुनै मतलब नराखी प्रहरीले पावरका भरमा दुर्घटनाकै दिन गाडीधनीलाई छाड्यो। अहिले हामी पैसाका लागि तड्पिरहेका छौं।’ प्रधान प्रहरीलाई रकम खुवाएर खुलेआम घुमिरहेको उनको आरोप छ।

इलाका प्रहरी प्रमुख अरुण कुशवाहालाई भेटेर उपचार खर्च दिलाउन आग्रह गर्दा पनि वास्ता नगरेको गुनासो उनले गरे। भने, ‘जिल्ला प्रहरी कार्यालय पनि ७–८ पटक धाइसक्यौं। मुद्दा पनि दर्ता गरायौं तर उहाँले चासो देखाउनुभएन।’

धनुषाका एसपी गोविन्द थपलियाले सवारी चालक पक्राउ परेका बेला पीडित पक्षले मिलापत्र गर्ने भनेपछि छाडिएको बताए। ‘सुरुमा मिल्छु भनेको तर पछि मुद्दा दर्ता गराएकाले अहिले समस्या भयो’, उनले भने। एक–दुई दिनभित्रै फाइल अदालतमा पेश गर्ने उनले बताए। फरार रहेकाले अदालतको फैसलापछि मात्र उपचार खर्च पीडित पक्षले पाउन सक्ने उनको भनाइ छ।

पीडित परिवारले प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएको छ। ठक्कर दिनेलाई प्रहरीले कारबाही गर्न नमानेको र उपचार खर्चका लागि पहल नगरिदिँदा अन्यायमा परेको गुनासो मन्त्रीसमक्ष पीडित परिवारले राखेको हो। यादवले आर्थिक सहयोगका लागि मद्दत गर्ने प्रतिबद्धता जनाए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.