प्रकाशमानको आरोप : ओली र देउवा दुवैमा बहुमतको दम्भ
बुटवल : नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सरकार र पार्टी दुवैमा बहुमतको अहमता रहेको बताएका छन् । 'न त सरकारले जनचाहनाअनुरुप काम गर्न सकेको छ, न हाम्रो पार्टीलेले प्रभावकारी भुमिका खेल्न्न सकेको छ', उनले भने, 'सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई वविधान विपरित चलाइरहेका छन् ।'
विधिविधान मिच्ने अधिकार कसैलाई नभएको भन्दै उनले विधानमा दुईवटा उपसभापति राख्ने ब्यवस्था नभएको पनि उल्लेख गरे । 'आफुलाई लोकतान्त्रिक पार्टी भन्ने अनि नेतृत्वले विधानविपरित बहुमतको आडमा मनपरी गर्ने ?', उनले प्रश्न गरे,'यसलाई सच्चाएर अगाडी बढ्नु बढाउनुपर्छ ।’
नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले तत्कालीन देउवा सरकारले जनताको चित्त बुझ्दो काम नगरेकै कारण पार्टीले चुनावमा हार व्यहोर्नुपरेको बताए ।
उनले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको गुनासो पनि गरे । 'अब सबैलाई समेटर विधान र बिधिलाई अबलम्बन गर्ने नेतृत्व कांग्रेसमा आमकार्यकर्ताले खोजेका छन्', उनले भने ।
नेता सिंहले वर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप पनि लगाए । दुईतिहाइको सरकारको गतिविधले संघीयतालई संस्थागत गर्ने अवस्था नदेखिएको उनको धारणा छ ।
‘सरकार सबै दृष्टिबाट फेल भइसक्यो, जनताले यो सरकारबाट धेरै आशा गरेका थिए,’ उनले भने । संविधानमा उल्लेखित अधिकारहरु कानुन बनाएर काम गर्नुपर्नेमा ९ महिना बितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको उनको गुनासो छ ।
समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएको भन्दै उनले ठुला कुरा मात्र गरेर केही नहुने जिकिर गरे । 'विकास बजेट ८ प्रतिशत पनि खर्च गर्न नसक्नेबाट धेरै आशा गर्नु हुँदैन', उनले भने ।
यातायातको सिन्डिकेट, सुन तस्करीकाण्ड जस्ता घटनाको संरक्षणमा सरकार नै लागेको उनको भनाइ छ ।