‘विप्लव’माओवादीले जनसभा गर्दै, नेकपा र कांग्रेसलाई छैन निम्तो !
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा जनसभाको घोषणा गरेको छ । यही मंसिर ८ गते काठमाडौंमा जनसभासँगै साताव्यापी पुर्नगठन दिवस मनाउने भएका हुन् ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय स्तरका केही नेताको उपस्थितिमा बुधबार यस्तो सार्वजनिक गरिएको हो । ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने उद्देश्य राखेको यस पार्टीले ‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ मूल नारा बनाएको छ ।
वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको भन्दै आफ्नो पार्टीले जनताबीचमा न्यायको फैसला गर्ने उनीहरुको दावी थियो । जनसभामा पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले सम्वोधन गर्ने बताइएको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने सभामा उपस्थित नहुने बताइएको छ । केन्द्रीय नेताहरुले विप्लवको अनुपस्थितिलाई ‘विशेष कारणवश् आउन नसक्ने’ बताएका छन् ।
तर नेकपा र कांग्रेसलाई निम्तो छैन !
दुईतिहाइ बहुमतका साथ सरकार नेतृत्व गरिरहेको नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसलाई भने जनसभामा उनीहरुले निम्तो नपठाएको बताएका छन् । सत्तारुढ दल नेकपा र कांग्रेसलाई उनीहरुले ‘दलाल पुँजीवादका मतियार’ भन्दै कार्यक्रममा निम्तो नदिएको उनीहरुले बताएका थिए ।
यसअघि कुनै पार्टीले आमसभा गर्दा ‘दुश्मन शक्ति’भनिने पार्टीलाई पनि औपचारिक निम्तो दिने चलन थियो । विप्लव नेतृत्वको नेकपाले भने प्रतिपक्षी कांग्रेसलाई समेत सभामा नबोलाउने बताएको हो ।
मित्र पार्टीको रुपमा चिनिएको मोहन वैद्य किरण नेतृत्वको पार्टीका केही शिर्ष नेतालाई भने औपचारिक रुपमा बोलाइएको जनसभा प्रचारप्रासर उपसमितिले जनाएको छ । शान्तिवाटिकामा गर्ने भनिएको जनसभामा देशैभरबाट हजारौंको संख्यामा जनता आउने उनीहरुको दावी छ ।