साउदीमा महिला अधिकारकर्मीमाथि यौन हिंसा र यातना : एम्नेष्टी रिपोर्ट
रियाद : साउदी सरकारबाट पक्राउमा परेका कम्तिमा १० महिला सहित अधिकारकर्मीहरुले यौन हिंसा तथा यातना भोगेको खुलासा भएको छ ।
यही वर्ष मे महिनायता पक्राउ परेका १७ अधिकारकर्मीमध्ये उनीहरुले अनुसन्धानको क्रममा यौन हिंसा र यातना भोग्नु परेको एम्नेष्टी ईन्टरनेश्नलले खुलासा गरेको हो ।
सरकारले लोउजैन अल हथलोउल, एमान अल नफजान र अजिजा अल यूसेफ सहित अधिकारकर्मीहरु पक्राउ परेका थिए । जब कि, उनीहरुले सवारी चालक अनुमतिको लागि अभियान चलाएका थिए ।
पक्राउ पर्नेमध्ये एक अधिकारकर्मीले त आत्महत्या समेत गरेको रिपोर्टमा उल्लेख छ । अधिकांश अधिकारकर्मीहरु राष्ट्रिय सुरक्षामा खलल पुर्याएको तथा दुश्मनलाई सघाएको अभियोगमा पक्राउ परेका थिए ।
तर धेरैजसो अधिकारकर्मीहरु कुनै अभियोग वा कानुनी आधारविना नै पक्राउ परेका थिए । पत्रकरा जमाल खसोग्गीको हत्यापछि साउदी सरकारले चौतर्फी आलोचना खेपिरहँदा एम्नेष्टीले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । तर यस्तो रिपोर्टबारे साउदी अधिकारीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।