कहाँ छन् विप्लव ? किन आउँदैनन् काठमाडौँ ?
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत् वैज्ञानिक समाजवाद हासिल गर्ने जनाएको छ । त्यसका लागि यही मंसिर ८ गतेबाट साताव्यापी पुनर्गठन दिवस मनाउने पनि त्यस पार्टीले घोषणा गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा मंसिर ८ गते काठमाडौं गरिने जनसभाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य चीरन पुनले यस्तो बताएका हुन् ।
‘वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको छ, जनताले दुःख पाएका छन्, सबैभन्दा बढी जनताबीचमा रहेको हाम्रो पार्टीलाई न्यायको फैसला गर्न भनेका छन्’, उनले भने, ‘त्यसैअनुरुप हामीले मंसिर ८ गते पार्टी पुनर्गठन दिवसका अवसरमा हाम्रो पार्टीका प्रवक्ताले सम्बोधन गर्नुहुनेछ ।’
नेता पुनले विप्लव कहीँ नलुकेको पनि जिकिर गरे । ‘पार्टी निर्णयानुसार काठमाडौँको सभामा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्बोधन गर्नुहुनेछ’, महासचिव विप्लवलाई लुकाउनुको कारणबारे सोधिएको प्रश्नमा उनले भने, ‘उहाँ लुक्नुभएको होइन, लुकाएका पनि छैनौँं, आजको दिन सबैभन्दा धेरै जनता भएको हाम्रो पार्टी हो, विशेष कारणवश उहाँ आउनु हुनेछैन ।’