प्रहरी, सेना र न्यायपालिका कब्जा हुँदै छ : देउवा

प्रहरी, सेना र न्यायपालिका कब्जा हुँदै छ : देउवा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट सेना, प्रहरी र न्यायपालिका कब्जा हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले सुरक्षा र न्याय क्षेत्र कब्जाबाट जोगाउन लोकतन्त्रवादी शक्ति सचेत हुनुपर्ने बताए। डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को २९ औं स्थापना दिवसमा बुधबार काठमाडौंमा उनले लोकतन्त्रवादीलाई सचेत गराएका हुन्।

‘सरकारले प्रहरी, सेना र जुडिसियरी कब्जा गरेर अघि जान सक्ने अवस्था छ। लोकतन्त्र जोगाउन सम्पूर्ण नेपाली एक भएर लड्नुपर्ने हुनसक्छ’, देउवाले भने, ‘बोली र बुलेटले लड्नुपर्ने अवस्था आउन सक्छ।’ उनले सरकारबाट न्यायपालिकामा ठूलो हस्तक्षेप भएको दाबी पनि गरे। ‘स्वतन्त्र न्यायपालिका खत्तम पारेर कमिटेड बनाउने र कब्जा गर्ने नियत छ’, उनले भने। राणा, पञ्चायत र राजाविरुद्ध लडेको कांग्रेसले लोकतन्त्र बचाउन कम्युनिस्ट सरकारविरुद्ध पनि लड्ने दिन आउनसक्ने चेतावनी पनि उनले दिए। देउवाले लोकतन्त्र र विधिको शासन रक्षाका लागि बारको आगामी नेतृत्वमा योग्य र सक्षम व्यक्तिको निर्विवाद चयन गर्न पनि सुझाए।

कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले देशमा हत्या, हिंसा, बलात्कार र अराजकता रोक्न सरकार असफल रहेको बताइन्। ‘शान्ति, सुरक्षा र सरकार सञ्चालनको असफलताले लोकतन्त्र धर्मराउँदै छ’, उनले खबरदारी गरिन्। वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीले पूर्वराजा ज्ञानेन्द्रको शासनमा जस्तै संवैधानिक कू को खतरा रहेको भनाइ राखे। उनले संवैधानिक कू रोक्ने चुनौती सामना गर्न तयार रहनुपर्ने पनि बताए। अर्का वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले सरकारबाट चौतर्फी हस्तक्षेप बढेको भन्दै प्रजातन्त्रवादी कानुन व्यवसायीले बोल्नुपर्ने बेला आएको भनाइ राखे।

नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले स्वतन्त्र न्यायपालिका र लोकतन्त्र जोगाउन लोकतन्त्रवादी शक्ति सक्षम रहेको दाबी गरे। बारका पूर्वअध्यक्ष हरिहर दाहालले बारको आगामी चुनावमा सत्तानिकट कानुन व्यवसायी संगठनको साधन र सम्पन्नतासँग मुकाबिला गर्न चुनौती हुने बताए। उनले कोही नजिकको भन्दा पनि भारी मत ल्याउन सक्ने उम्मेदवारको खाँचो औंल्याए। प्रगतिशील व्यावसायिक लयर्स एसोसिएसनका अध्यक्ष रुद्र नेपालले बार नेतृत्व सर्वसम्मत बनाउनुपर्ने प्रस्ताव राखे।

अन्नपूर्णकर्मी विरही पुरस्कृत 

डेमोक्रेटिक लयर्स एसोसिएसनको स्थापना दिवसमा अन्नपूर्णकर्मी यम विरहीलाई पुरस्कृत गरिएको छ। स्वतन्त्र न्यायपालिका, कानुनी राज, मानवअधिकार र लोकतान्त्रिक प्रणालीका पक्षमा निष्पक्ष समाचार सम्प्रेषण गरेको बताउँदै विरहीलाई १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेका थिए।

दिवसमा वरिष्ठ अधिवक्ता महादेव यादव, यज्ञमूर्ति बञ्जाडे, हरिहर दाहाल, वसन्तराम भण्डारी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे र डीएलएका निवर्तमान अध्यक्ष भरत खरेललाई सम्मानित गरियो। यस वर्ष बार काउन्सिलको अधिवक्ता लाइसेन्स परीक्षामा पुरुषतर्फ पहिलो आलोक महत र महिलातर्फ पहिलो आस्था निरौलालाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.