पल्सर सहिद स्मारक लिग : दुई पूर्वविजेताको भिडन्त आज
काठमाडौं : घरेलु फुटबलका सर्वाधिक सफल टोली थ्रीस्टार र मनाङ मर्स्याङ्दी क्लबबीचको रोचक भिडन्त बिहीबार हुनेछ। चार वर्षपछि पुनः सञ्चालनका आएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एन्फा मैदानमा खेलिने तेस्रो चरणको खेलमा पूर्वविजेताबीचको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
दोस्रो चरणको खेलमा अपराजित रहेका दुवै टोलीले शतप्रतिशत नतिजासहित समान ६–६ अंक बनाएका छन्। थ्रीस्टार गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। मनाङ दोस्रो स्थानमा छ। ६ अंक नै बनाएको संकटा तेस्रो स्थानमा छ। फर्मका रहेको थ्रीस्टारले मनाङसँग पनि आफ्नो अपराजित लय कायम राख्ने दाबी गरेको छ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले थ्रीस्टारले लिगका सबै खेल जितका लागि खेल्ने बताए। ‘घरेलु फुटबलमा हाम्रो उपस्थिति छुट्टै हुन्छ। हामी कुनै पनि खेल हार्ने मनस्थितिले खेल्दैनौं। मनाङलाई हामीले कमजोर ठानेका छैनौं। तर हाम्रो प्रयास तीन अंकका लागि हुनेछ। थ्रीस्टारको लक्ष्य १३ वटै टोलीलाई हराएर उपाधि जित्ने हो’, मेघराजले भने। दर्शक र समर्थकको समेत थ्रीस्टार र मनाङलाई धेरै साथ मिल्ने गरेको छ। पछिल्लो समय टोलीमा अनुभवी खेलाडी रहेकाले थ्रीस्टारको मनोबल उच्च देखिन्छ। यस वर्ष मात्र थ्रीस्टारले सातवटा उपाधि जितेको छ। थ्रीस्टार मोफसलमा सम्पन्न भएका ११ वटा प्रतियोगिताको फाइनलमा पुगेको थियो।
यसैगरी मनाङले पनि थ्रीस्टारसँग शानदार प्रदर्शन गर्ने दाबी गरेको छ। मनाङका प्रशिक्षक सुमन श्रेष्ठले थ्रीस्टार बलियो टोली भएकाले मनाङले शतप्रतिशत मेहनत गरेर खेल्ने बताए। ‘थ्रीस्टार नै मनाङका लागि बलियो प्रतिद्वन्द्वी हो। हाम्रो लक्ष्य पनि तीन अंक लिने हो’, सुमनले भने। मनाङलाई अहिले घाइते खेलाडीको समस्याले पिरोलेको छ। थ्रीस्टारसँग खेल्दा मनाङको रोजाइका अफ्रिकी स्ट्राइकर ओलावाले अफिज पनि हुनेछैनन्। अघिल्ला खेलमा दुईवटा पहेँलो कार्ड पाएका कारण ओलावालेको अभाव मनाङलाई खड्किने छ। यसैगरी रोजाइका खेलाडी सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीको हात भाँचिएका कारण मनाङ केही अप्ठ्यारोमा देखिएको छ। सुजलले अभ्यासका क्रममा हात गुमाएका थिए। बुढाथोकीको हात एनआरटीसँग खेल्ने क्रममा भाँचिएको थियो।
यसैगरी लिगअन्तर्गत एन्फा मैदानमा हुने अर्को खेलमा च्यासल युथ र एनआरटी क्लब भिड्दै छन्। अघिल्ला दुई खेलमा बराबरी नतिजा निकालेको च्यासलले एनआरटीसँग जितका लागि खेल्ने टोलीका प्रशिक्षक राजुकाजी शाक्यले बताए। ‘खेलाडी विस्तारै सेट हुँदै छन्। एनआरटीसँग हाम्रो प्रयास तीन अंक लिने हुनेछ’, राजुकाजीले भने।
एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले पनि च्यासलसँग उत्कृष्ट खेल्ने बताए। अघिल्ला दुई खेलमा दुवै टोलीले एक बराबरी र एक हारको नतिजा निकालेका थिए। एकएक अंक बनाएको च्यासल र एनआरटी नवौं र १०औं स्थानमा छन्।