आठाैं राष्ट्रिय खेलकुद फागुन पहिलो साता सुरु गर्न सुझाव
नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिका सदस्य रहेका प्रदेश ५ मातहत जिल्लाका संघीय, प्रदेश र राष्ट्रिय सभाका सांसदले प्रतियोगिता एक साता सार्न अनुरोध गरेका छन् । सोमबार बसेको संघीय र प्रादेशिक सांसद (मूल आयोजक सदस्य) को बैठकले पाँचवटा निर्णय गर्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई प्रतियोगिताको मिति सार्न लिखित आग्रह गरेको हो ।
प्रदेश ५ का विभिन्न जिल्लामा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फागुन पहिलो साताबाट सुरु गरेर दोस्रो हप्तासम्म सम्पन्न गर्ने गरी मिति तय गर्न आग्रह गरिएको छ । निर्माणाधीन खेल पूर्वाधारको अनुगमन गरेका सांसदहरूले समयमै पूर्वाधार निर्माणको काम सम्पन्न गर्न यस्तो माग गरेका हुन् ।
बैठकमा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले मिति सार्ने निर्णय गर्नुपर्ने प्रस्तावलाई अन्य सांसदले सर्वसम्मत रूपमा पारित गरेका थिए । राष्ट्रियसभा सदस्य कोमल ओलीले पनि पहिलो सातासम्म सार्दा मौसमका कारण कुनै फरक नपर्ने बताएकी थिइन् ।
बैठकमा बाँकेबाट ७, बर्दिया र दाङबाट एक–एक गरी नौजना सांसद र प्रतियोगिता आयोजना गरिने स्थानका स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । बाँकेबाट संघीय सांसदद्वय अथक र नन्दलाल रोकाय, प्रदेशसभा सदस्यहरू आईपी खरेल, कृष्णा केसी, बाबुराम गौतम, सुरेन्द्र हमाल र उषा पुन सहभागी थिए । यस्तै बर्दियाबाट सांसद विमला विक र दाङबाट राष्ट्रियसभा सदस्य कोमल ओलीको सहभागिता थियो ।