अमेरिकी क्रिश्चियन धर्म प्रचारकको हत्या
नयाँदिल्ली : जोन अलेन चाउ नाम गरेका एक अमेरिकी नागरिक भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा शंकास्पद रुपमा मारिएका छन् ।
यहाँका आदिवासीले प्रयोग गर्ने धनुष वाणको प्रहारले चाउको हत्या भएको बुझिएको छ । यस क्षेत्रमा विदेशीले यस्ता हतियार बोक्न प्रतिबन्ध लगाइएकाले पनि चाउको हत्या अन्डामनका आदिवासीले नै गरेको बताइन्छ ।
किन भयो हत्या ?
चाउको आफ्नो सामाजिक संजालमा भने आफू एक इसाई धर्ममा विश्वास गर्ने फिरन्ते भनी उल्लेख छ । सोसल मिडियामा इसाइ धर्ममा विश्वास गर्ने जस्ता अभिव्यक्ति र भनाइ उल्लेख भएका आधारमा उनी धर्म प्रचारकै कारण मारिएको हुनसक्ने बताइएको छ । चाउले भिक्टोरियन घुमन्ते र मिसनरी डेभिड लिभिङ्सटन र जिससबाट अति प्रभावित भएको कुरा आफ्ना पोष्टमा उल्लेख गरेका थिए ।
रिपोर्टका अनुसार चाउ त्यहाँका आदिवासी माझीहरुलाई प्रयोग गरी टापुमा छिरेका थिए । जब कि, यस क्षेत्रमा सिधै प्रवेश गर्नु आदिवासीहरुको नियम विपरित हुन्छ । चाउ पनि अनुमतिविना टापुमा छिरेपछि ‘सेन्टिनिज’ आदिवासीहरुको आक्रमणबाट मारिएको बताइएको छ । उनी यसअघि नै चार वा पाँच पटकसम्म स्थानीय माझीको सहायतामा उत्तरी सेन्टिल क्षेत्रको टापु भ्रमण गरिसकेका थिए ।
अधिकारीहरुका अनुसार यी टापुका बासिन्दा ६० हजार वर्षयता यही क्षेत्रमा पृथक रुपमा रहँदै आएका छन् । यहाँका माझीहरुको डुँगा प्रयोग गरी टापुमा छिरेपछि उनको हत्या भएको हो । हत्यापछि उनका केही साथीहरुले ‘चाउ सहिद’ भएको भन्दै उनीप्रति श्रद्धान्जली अर्पण समेत गरेका छन् ।
चाउले यसअघि नै अन्डामन र निकोबर टापु फर्कने उद्देश्य रहेको भन्दै सार्वजनिक गरेका थिए । साथै त्यहाँ हेर्नुपर्ने र गर्नुपर्ने धेरै कुरा बाँकी रहेको उनले उल्लेख गरेका थिए ।
चाउले हत्या हुनुअघि टापुमा छहरा र फलफूलसहित आफ्ना केही तस्बिर सार्वजनिक गरेका थिए । चाउको हत्यापछि यहाँका ६ जना माझीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका एक माझीले भने चाउले जबर्जस्ती डुंगा समुद्रमा लिएर गएको बताएका छन् ।