विन्स्टन चर्चिललाई पछ्याउँदै गण्डकीका मुख्यमन्त्री : ‘वाररुम’बाटै आयोजना अनुगमन

विन्स्टन चर्चिललाई पछ्याउँदै गण्डकीका मुख्यमन्त्री : ‘वाररुम’बाटै आयोजना अनुगमन

पोखरा : भारतको तेलंगना राज्यमा विश्वकै सबैभन्दा ठूलो सिँचाइ आयोजना बनिरहेको छ। १८ सय किलोमिटर लामो सिँचाइ नहर निर्माण आयोजनाको अनुगमन त्यहाँका मुख्यमन्त्री के चन्द्रशेखर राव आफ्नै कार्यकक्षबाट गर्छन्। 

त्यस्ता आयोजना नेपालको गण्डकी प्रदेशमा छैनन्। तर यहाँका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आफ्नै प्रदेशका ठूला आयोजनाको अनुगमन त्यसरी नै गर्ने योजनामा छन्। 

मुख्यमन्त्री गुरुङ मलेसियाका महाथिर मोहम्मद, सिंगापुरका लि क्वान यु र बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिलले त्यसरी ठूला योजनाको अनुगमन गरेको प्रसंग उप्काइरहन्छन्। अब गण्डकीका ठूला योजना त्यसरी नै अनुगमन गर्न वाररुमको कन्सेप्ट अघि सारेका छन्। 

‘चर्चिलले दोस्रो विश्वयुद्धका बेला आफ्ना जर्नेललाई राखेर कसलाई कता खटाउने, कहाँ के गर्ने भन्ने निर्णय तुरुन्ता तुरुन्तै गर्ने कक्षलाई वार रुम भनिन्थ्यो’, मुख्यमन्त्री गुरुङ भन्छन्, ‘हामीलाई पनि युद्धस्तरमा काम गर्नुछ, त्यसैले वाररुम बनाउँदैछौं।’ 

गण्डकी प्रदेश सरकारले पहिलोपटक ल्याएको नीति तथा कार्यक्रममै वार रुमको योजना सार्वजनिक गरेको थियो। अब त्यसलाई कार्यान्वयनमा लैजाने प्रयत्न सुरु भएको छ। कार्यान्वयनबारे सरकारले विज्ञबाट परामर्श लिइसकेको छ। युनएनडीपीका सुदीप अर्यालले बिहीबार मुख्यमन्त्री, मन्त्री र सचिवहरुलाई वार रुम सञ्चालनबारे प्रस्तुतीकरण गरे। 

उनले भिडियो कन्फेरेन्स सफ्टवेयर ‘जुम’ प्रयोग गरी योजनाको अनुगमन गर्न सकिने जानकारी दिए। उनले प्रदेश सरकारबाट चाहना भएको वार रुम सञ्चालन तुरुन्तै गर्न सकिने बताए। ‘जुम सफ्टेवयरको लाइसेन्स नै खरिद गरी प्रयोगमा ल्याउन खास खर्चिलो छैन’, उनले भने, ‘लाखौं खर्च गरेर अर्काे सफ्टवेयर बनाउन जरुरी छैन, संसारभरि अहिले धेरै केन्द्र र राज्य सरकारले मात्रै होइन, बहुराष्ट्रिय कम्पनीले पनि जुम सफ्टवेयर चलाइरहेका छन्।’ 

अर्यालले मुख्यमन्त्री कार्यालयमा उपसचिव संयोजकत्वको वार रुम व्यवस्थान टिम बनाउन सुझाए। उनकै भनाइमा सबै मन्त्रालय, अनुगमन पर्ने आवश्यक कार्यालय र स्थललाई जोडेर अडियो, भिडियो र ग्राफिक एवं तथ्यांकीय जानकारी लिन सकिने सुनाए। ‘भिडियो मिटिङ गरी तुरुन्तै निर्णय लिन सकिन्छ र त्यो भिडियो दस्तावेजको अभिलेख पनि रहन्छ’, उनले भने। विभिन्न परियोजनाको गतिविधि दृश्य, तथ्यांक र ग्राफमा देखाउन डिस्प्ले गरिरहने र तथ्यांकमा स्वचालित रुपमा संकलन हुने व्यवस्था गर्नुपर्ने पनि बताए। 

मुख्यमन्त्री गुरुङले वार रुमको कन्सेप्ट बुझाएर सुझाव संकलनका लागि बिहीबारको छलफल डाकेको सुनाए। उनले भने, ‘विकासे आयोजनामात्रै होइन प्रहरी प्रशासन पनि वार रुमको नेटवर्कमा हुन्छ।’ कुन कुन स्तरको आयोजनालाई त्यस्तो संयन्त्रमा जोड्ने भन्नेचाहिँ छलफलपछि टुंग्याउने जानकारी मुख्यमन्त्री गुरुङले दिए। प्रदेश नयाँ भएको हुँदा युद्धस्तरका काम गर्न पनि योजनाको अनुगमन गर्ने वार रुम चाहिने उनले प्रष्ट्याए। 

वार रुमबारेको छलफलमा मुख्यमन्त्री, मन्त्री र सचिव। तस्बिर : अन्नपूर्ण  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.