'वाइड बडी किन थन्किएका ?'

'वाइड बडी किन थन्किएका ?'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याएर थन्क्याएकामा गम्भीर चासो देखाएका छन् । सर्वसाधारणको करबाट जोडिएको राज्यको सम्पत्ति दुरुपयोग गरिनु असह्य हुने उनले बताए ।

‘वाइड बडी किन ल्याइयो, किन उडाइएन ? ’ बजेट एवं मन्त्रालयगत कार्यसम्पादन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले सोधे, ‘जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् ? ’ बैठकमा मन्त्री र सचिवहरू सहभागी थिए ।

निगमले वाइड बडी विमान ल्याउनासाथ प्रधानमन्त्रीले एक कार्यक्रममा तिनको सञ्चालनबारे जिज्ञासा राखेका थिए । निकट स्रोत भन्छ, ‘त्यस अवसरमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले ट्याक्सीजस्तो आउनेबित्तिकै जहाज कहाँ उडाउन सकिन्छ र भनेर जवाफ दिएका थिए ।’

प्रधानमन्त्री ओलीले त्यसबारे इंगित गर्दै बिहीबारको बैठकमा भने, ‘कर्मचारीले ओठे जवाफ मात्र दिन्छन्, गरेर देखाउँदैनन् । निगम टाट भइसक्यो भनेर व्यवस्थापनले उल्टै पैसा माग्छ । लापरबाहीले डुबाइरहेको ठाउँमा गरिबको पैसा दिन सकिँदैन । के भएर निगम यो अवस्थामा पुग्यो ? ’

‘गोष्ठी छाडौं, भत्ता नलिऔं’

प्रधानमन्त्रीले गोष्ठी र छलफलमा समय खेर नफाली काम गर्ने ढाँचा परिवर्तन गर्न मन्त्री र सचिवलाई निर्देशन दिए । उनले हरेक दिन मुलुक एक कदम अघि बढ्नेगरी काम गर्न निर्देशन दिए । ‘नीति, बैठक, छलफल, सुझावमा धेरै समय नबिताई कामलाई प्राथमिकता दिनुहोस्,’ उनले भने, ‘आफैं गहन अध्ययन गर्नुहोस् । अवधारणा बनाउनुहोस् । त्यसपछि सुझाव लिनुहोस् ।’

प्रधानमन्त्रीले पहिले आफू स्पष्ट भएर मात्र विज्ञको सुझाव लिन निर्देशन दिए । नौ महिने अवधिमा मन्त्री र सचिवबाट अपेक्षाकृत काम हुन नसकेकोमा उनको असन्तुष्टि थियो । ‘हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनुपर्छ । त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ,’ ओलीले भने ।

कार्यालय समयमा हुने बैठकको भत्ता नलिन प्रधानमन्त्रीले कर्मचारीलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘कार्यालय समयमा गरेको कामको तपाईंले तलब लिनुभएको छ । त्यस कारण भत्ता लिने सोचाइ हटाउनुहोस् । मितव्ययी भएर चल्न सिक्नुहोस्,’ प्रधानमन्त्रीले कर्मचारीलाई निर्देशन दिए ।

कृषि वनमा जोड

प्रधानमन्त्रीले वन मन्त्रालयलाई वृक्षरोपणमा मात्र होइन कृषि वन बढाउन निर्देशन दिए । ‘अनुत्पादक जातको वृक्षरोपण होइन, उत्पादन दिने खालका फलफूलका बिरुवा रोप्न प्रेरित गर्नुहोस्,’ उनले वनमन्त्री शक्ति बस्नेतलाई निर्देशन दिए, ‘यस्तो गरेमा फलजति जनताको, बोटजति सरकारको हुन्छ ।’

सहकारीमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले त्यसैअनुसार नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनुपर्ने बताए । ‘बृहत् मात्रामा कृषि उत्पादन गरौं । जसलाई निर्यात गर्न पनि सजिलो हुन्छ,’ उनको भनाइ थियो, ‘अहिलेको हाम्रो न्यून उत्पादनले बजारमा पु¥याउँदा खर्च पनि नधान्ने स्थिति सिर्जना भएको हो।’

प्र्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहमा समन्वयका अभाव देखिएको भन्दै त्यसलाई घटाउनुपर्ने बताएका थिए । ‘यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिति छ । त्यसलाई हटाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । बैठकमा विभिन्न मन्त्रालयका सचिवले ‘प्रगति’ विवरण पेश गरेका थिए । बाँकी मन्त्रालयको समीक्षा बैठक शनिबार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.