बीपी प्रतिष्ठानको जग्गामा विवाद

बीपी प्रतिष्ठानको जग्गामा विवाद

सुनसरी : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा डिपोट स्कुलले लिजमा दिएपछि विवाद भएको छ। प्रतिष्ठानलाई नै जग्गा आवश्यक रहेको भन्दै चिकित्सक, शिक्षक, नर्स र विद्यार्थी आन्दोलित भएका छन्। उनीहरूले बिहीबार प्रतिष्ठान र डिपोट बचाउनुपर्ने अनि फनपार्क सार्नुपर्ने मागसहित प्रदर्शन गरे। प्रतिष्ठानका सेवा विस्तारका लागि अझै जग्गा चाहिएको बेला कम्पनीलाई दिनु उचित नभएको संघर्ष समितिका संयोजक डा. विष्णु पोखरेलले बताए।

२ सय ८२ बिघा जग्गा प्रतिष्ठानका नाममा छ। १३ बिघा १० कट्ठा ६ धुर जग्गा विद्यालय सार्नुपरे वा बन्द भए फिर्ता गर्ने सर्तमा डिपोटले १३ वर्षअघि लिएको थियो। गुठीअन्तर्गत दर्ता गैरनाफामूलक डिपोट स्कुलले तीन बिघा इजी राइडर ग्रुपलाई फनपार्क, पेट्रोल पम्प, रेस्टुराँदेखि नर्सिङ होम सञ्चालन गर्न ३० वर्षे लिजमा दिएको छ। डिपोट व्यवस्थापन र इजी राइडरले प्रतिष्ठानको सहमतिबिना फनपार्क निर्माण थालेपछि सुटुक्क लिजमा दिएको खुलेको हो।

विगतमा ब्रिटिस गोर्खा सैनिक भर्ती क्याम्प रहेको जग्गा नेपाल सरकारको स्वामित्वमा गएको थियो। सरकारले २०५१ सालमा प्रतिष्ठानलाई जग्गा उपलब्ध गराएको थियो। क्याम्प हुँदै लाहुरेका छोराछोरी पढाउन खोलिएको डिपोटका नाममा जग्गा थिएन। २०६२ असार २९ मा मन्त्रिपरिषद्को निर्णयबाट ‘भोगाधिकार मात्र’ उल्लेख गरेर शैक्षिक प्रयोजनका लागि लालपुर्जा दिइएको थियो। सोही जग्गामा तीन वर्षसम्म वार्षिक १ लाख र त्यसपछि १८ लाख रुपैयाँ डिपोटले पाउने सम्झौता गरेर पूर्वाधार निर्माण थालिएको छ। तीनपटक चिठी पठाए पनि काम नरोकिएको प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठले बताए।

डिपोट सञ्चालक समितिले भने स्कुलका नाममा लालपुर्जा भएको र भोग गर्दै आएको जग्गा लिजमा दिइएको जनाएको छ। डिपोटले भोगचलन गर्दै आएको जग्गा सञ्चालक समितिको निर्णयअनुसार लिजमा दिइएको डिपोटका प्राचार्य राजकुमार राईले बताए। त्यसबाट हुने आम्दानी शैक्षिक विकासमा खर्च गरिने उनको भनाइ छ।

रजिस्ट्रार श्रेष्ठले भने पुर्जामै भोगाधिकार उल्लेख भएको जग्गा डिपोटले अरूलाई दिन नमिल्ने बताए। ‘डिपोटले स्कुल, होस्टल बनाउन पाउँछ तर अरूलाई लिजमा दिएर पैसा कमाउन पाउँदैन’, उनले भने, ‘यो सरकारको जग्गा हो।’

काम रोक्न निर्देशन दिएपछि इजी राइडर जिल्ला अदालत गएको थियो। काम नरोक्न अन्तरिम आदेशपछि धमाधम काम भइरहेको छ। प्रतिष्ठानले छेउमा ४ सय शड्ढयाको मातृशिशु स्याहार केन्द्र निर्माण गरिरहेको छ। २÷२ सय शड्ढयाका अंकोलोजी र कार्डियो सेन्टरसमेत निर्माण गर्ने प्रतिष्ठानको योजना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.