निर्माण उपकरणकाे बृहत् प्रदर्शनी

निर्माण उपकरणकाे बृहत् प्रदर्शनी

भक्तपुर : दक्षिण एसियाकै बृहत निर्माण उपकरणसम्बन्धी तीन दिने प्रदर्शनी भक्तपुरको सल्लाघारीमा सुरु भएको छ। भारत उद्योग परिसंघको आयोजनामा ‘सीआईआई कनम्याक २०१८ प्रदर्शनी’ सुरु भएको हो। भौतिक पूर्वाधार, योजना तथा यायातातमन्त्री रघुवीर महासेठले बिहीबार प्रदर्शनी उद्घाटन गर्दै प्रविधितर्फ नगई समृद्ध मुलुक बन्ने नसक्ने बताए।

उनले नेपाली निर्माण व्यवसायीलाई अत्याधुनिक उपकरण तथा प्रविधिले सुसज्जित हुने आह्वानसमेत गरे। ‘नेपालको पूर्वाधार विकास निर्माण विदेशी निर्माण व्यवसायीसमेत आकर्षित हुन थालेका छन्’, मन्त्री महासेठले नेपाली निर्माण व्यवसायीलाई भने, ‘त्यसैले तपार्इं पनि प्रविधिले सुसज्जित हुनुहोस्। मेसिनबिना हामी केही पनि गर्न सक्दैनौं।’

विकास बजेट तीन गुणा

मन्त्री महासेठले अबको साढे चारवर्षभित्र सरकारले विकास बजेटलाई तीन गुणा बढाउने दाबी गर्दै सोहीअनुसार काम गर्न सक्ने गरी आफ्नो क्षमता बढाउन निर्माण व्यवसायीलाई आह्वान गरे। ‘अहिले तीन खर्ब ५० अर्ब विकास बजेट रहेको छ। चालु आवको अन्तसम्म यो पाँच खर्ब पुग्छ’, उनले भने, ‘साढे चार वर्षसम्म विकास बजेटलाई तीन गुणा बढाउने सरकारको लक्ष्य छ।’

अबको साढे चार वर्षभित्र करिब आठ हजार किलोमिटर सडक कालोपत्रे हुनेसमेत मन्त्री महासेठको भनाइ थियो। उनले दुई हजार आठ सय किलोमिटरको रेलमार्ग निर्माणबारे डीपीआर तयार भइसकेको बताए। मन्त्री महासेठले एक हजार पाँच सय किलोमिटरभन्दा बढी लामो कोलकाता बन्दरगाहसम्मको दूरीलाई विराटनगरबाट एकसय ४२ किलोमिटरमा झार्ने गरी नेपाल र भारतका प्राविधिकले काम गरिरहेको जानकारी दिए।

देशको एकमात्र अजेन्डा विकास

मन्त्री महासेठले देशमा राजनीतिक एजेन्डा सकिएको दाबी गर्दै विकासको एजेन्डाबाहेक नेपालीलाई कुनै आन्दोलन र संघर्ष नचाहिएको बताए। ‘नेपालमा अब कुनै राजनीतिक एजेन्डा बाँकी छैन। अब न निर्दल चाहिएको छ न त बहुदल। जनताले चाहेको गणतन्त्र आइसक्यो’, उनले भने, ‘अब विकासका एजेन्डाबाहेक नेपालीलाई आन्दोलन र संघर्ष चाहिएको छैन।’

उनले समृद्ध नेपाल र खुसी नेपाली बनाउन पूर्वाधार विकास निर्माण पहिलो आवश्यकता भएकोमा जोड दिए।उक्त आवश्यकता पूरा गर्न कनम्याक २०१८ फलदायी हुने भन्दै मन्त्री महासेठले देशका अन्य क्षेत्रमा पनि यस्ता प्रदर्शनी गर्न सुझाव दिए।

सीआईआई आर्थिक राजदूत

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भारतीय उद्योग परिसंघ पनि नेपालको लागि आफूजस्तै आर्थिक राजदूत भएको बताए। उनले नेपालको आर्थिक विकासका लागि भारत सरकारले सदैव सहकार्य र सहयोग गर्दै आएको स्मरण गरे। सीआईआई ट्रेड फेयर काउन्सिलका अध्यक्ष विपिन सोन्धीले परिसंघले भारतबाहिर पहिलोपटक नेपालमा दक्षिण एसियास्तरको निर्माण उपकरण प्रदर्शनी गरेको जानकारी दिए। उनले कम्तीमा दुई वर्षमा एकपटक नेपालमा यस किसिमको प्रदर्शनी गर्ने घोषणासमेत गरे।

महासंघसँग समन्वय गरिएन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले प्रदर्शनीमा रहेका उपकरण नेपाली निर्माण व्यवसायीले प्रयोग गरिरहेकै रहेको बताए। अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी भएकाले नयाँ नयाँ उपकरण ल्याउन सकिएको भए नेपाली निर्माण व्यवसायी लाभान्वित हुने उनको भनाइ थियो।

उनले निर्माणसम्बन्धी उपकरण प्रदर्शनी गरिँदा महासंघसँग सहकार्य र समन्वय नगरिएकोमा गुनासो पोखे। कनम्याक नेपाल २०१८ का अध्यक्ष अरविन्द गर्गले नेपालको पूर्वाधार विकास तथा निर्माणलाई थप गति दिने उद्देश्यले प्रदर्शनी गरिएको जानकारी दिए। उनले नेपालभरका १० हजारभन्दा बढी निर्माण व्यवसायीले प्रदर्शनी अवलोकन गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा ‘नेपालमा भौतिक पूर्वाधारको सम्भावना’ सम्बन्धी पुस्तकसमेत विमोचन गरिएको थियो।

खुला चौरमा हेभी उपकरणको ताँती

भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित खुला मैदानमा आयोजित प्रदर्शनीमा भारतका एक सय ५० भन्दा बढी ठूला साना निर्माण उपकरण उत्पादक तथा बिक्रेताका स्टल छन्। प्रदर्शनीस्थलमा एउटा सेमिनार हल र दुईवटा ठूला डोमभित्र निर्माण सामग्रीका पार्टपुर्जा, निर्माण कम्पनी, इन्जिनियङि कन्सल्टेन्टका स्टल राखिएका छन्।

ठूला उपकरण भने खुला ठाउँमा राखिएका छन्। ठूलाठूला, स्क्याभेटर, डोजर, लोडर, ब्याक्हो, कम्प्रेसर, सिमेन्ट घोल्ने मेसिनदेखि गिट्टी कुट्ने, पिच सम्याउने मेसिन प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा एस, जेसीबी, हुन्डाई, स्यानी, केस, कोमात्सु, क्याटरपिलर, एल एन्ड टी, टाटा हिटाची, कोबेल्को, क्याब फिओरी, म्याकोन, पुट्जमिस्टर, सिंग स्टेटर, डोज्को, अपोलो, प्रोपेल जस्ता ठूला कम्पनीका हेभी उपकरण राखिएको छ। प्रदर्शनी शनिबारसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.