तीतो कफी, किन मन पर्छ मान्छेलाई ?
मानिसमा तीतो स्वाद थाहा पाउने गुण हुन्छ। प्राकृतिक रूपमै विकास भएको यो ‘सिस्टम’ले मानिसलाई हानिकारक चिजहरूबाट जोगाउन मद्दत गर्छ। तीतो पदार्थ मुखमा राख्नेबित्तिकै जिब्रोले मस्तिष्कलाई सूचना दिन्छ। त्यसपछि तीतो हानिकारक चिजबाट हामी जोगिन्छौं अर्थात् हामी तीतो चिज निल्दैनौँ।
कफी पनि अत्यधिक तीतो हुन्छ। तर पनि किन मन पराउँछन् मान्छे ? कफी विश्वभरि खाइन्छ। कसैकसैलाई त छिनछिनमै चाहिन्छ। केही समयअघि प्रकाशित ‘साइन्टिफिक रिपोर्ट’ जर्नलका अनुसार जो तीतो मन पराउँछन्, अत्यधिक कफी सेवनकर्ता पनि उनीहरू नै हुन्छन्। मान्छेले तीन तीतो पदार्थ क्याफिन, क्युनिन र प्रोपिलथियोरेसियल किन सेवन गर्छन् भनेर गरिएको अनुसन्धानबाट यस्तो परिणाम आएको हो। ‘जिन’ले पनि तीतो पदार्थ सेवन गर्ने कुरामा प्रभाव पार्ने अध्ययनको निष्कर्ष थियो।
वैज्ञानिकहरूको टोलीले तीतो पदार्थ र यसको उपभोगलाई जोडेर अध्ययन गरेका थिए। अध्ययन चार लाख महिला तथा पुरुषमा केन्द्रित गरिएको थियो। त्यस्तै बेलायतको बायोब्यांकबाट अनुसन्धानमा सहभागीहरूको ‘जेनेटिक डाटा’ हरू पनि अनुसन्धान गरिएको थियो। अनुसन्धानमा तीतो पदार्थ र ‘जिन’को सम्बन्ध भेटिएको थियो। ‘हामीलाई लाग्न सक्छ, जसले क्याफिनको तीतो स्वाद छिटो थाहा पाउँछ उसले कम कफी पिउँछ’, फिनवर्ग स्कुल अफ मेडिसिन, नर्थवेस्ट विश्वविद्यालयकी प्रोफेसर तथा अध्ययनमा सहभागी म्यारिलिन कर्नेलिजले भनिन्, ‘परिणाम आममानिसले सोचेभन्दा फरक आयो। कफी पिउनेसँग यस्तो क्षमता हुन्छ, जसले छिटो क्याफिन पत्ता लगाउँछन् र त्यसलाई सकरात्मक रूपमा प्रयोग गर्छन्।’
यसका अतिरिक्त जसले प्रोपिलथियोरेसियल सेवन गर्छन्, उनीहरूले कम अल्कोहल सेवन गर्छन्। जिनको कारणले मानिसले कफी, चिया वा अल्कोहल रुचाउने कुरामा फरक आउने देखियो।