केयुका १५ सय बढी विद्यार्थी दिक्षित
बनेपा : काठमाडौ विश्वविद्यालय (केयु)को २४ औ दिक्षान्त समारोहबाट १५ सय ५५ जना विद्यार्थी दिक्षित भएका छन् । शुक्रबार काभ्रेको चौकोटस्थित स्कुल अफ मेडिकल साइन्सेज स्कुलमा विभिन्न विषयका १५ सय ५५ जना विद्यार्थीलाई विश्वविद्यालयले दिक्षित गरेको हो।
दिक्षान्त समारोहमा एमबीबीएसका ९ सय ६९ जना, बीएडका १ सय ६६, बीएस्सी नर्सिङ्गका १ सय ८२, बीएनएसका १८ र बीपीटीका२२ जना विद्याथी र एमडी/एमएस/एमडीएस/एमएससी/एमसीएचमा १ सय ९८ जना विद्यार्थी दिक्षित भएको विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डीन प्रोफेसर डाक्टर राजेन्द्र कोजुले जानकारी दिए।
कार्यक्रमा प्रधानमन्त्री एवम कुलपति समेत रहेका केपी शर्मा ओली स्वास्थ्यको कारण देखाउँदै उपस्थित नभएपछि सहकुलपति एवम शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले अध्यक्षता ग्रहन गरेका थिए।
मन्त्री पोखरेलले सामारोहलाई सम्बोधन गर्दै पछिल्लो समय शिक्षाको गुणस्तर खस्किँदै गएकाले समग्र शिक्षा क्षेत्र र विशेष चिकित्सा क्षेत्रमा रहेका विकृति, विसंगतिको अन्त्य हुने गरी चिकित्सा शिक्षा विधेयक पास हुने बताए। 'हामीले विज्ञ,सरोकारवाला सबैको सहभागितामा संघीय शिक्षा नीति बनाउन लागेका छौं, उनले थपे,' पल्लिो समय उच्च शिक्षा व्यवसायिकभन्दा व्यापारिक हुँदै गएकाले शिक्षाको गुणस्तर खस्कदो छ, यसलाई सुधार्ने कार्यमा छौं।'

कार्यक्रममा प्रमुख अतिथि इन्टरनेसनल सेन्टर फर माउन्टेन डेभेलप्मेन्ट (इसिमोड) का महानिर्देशक डेभिड जेम्स मोल्डनले नेपालीले अझैं सहजै शिक्षा र स्वास्थ्यमा पहुँच नभएको बताए।'पछिल्लो समय नेपालमा स्वास्थ्य क्षेत्रमा केही सुधार भएपति चाहिने जति सुधार भएको छैन।' उनले दुर्गमका सीमान्तकृत र पिछडिएका व्यक्तिको स्वाथ्यमा सहज पहुँच नभएकाले दिक्षितलाई उनीहरुको सेवामा लाग्न आग्रह समेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपती रामकण्ठ माकाजुले उत्पादित जनशक्तिलाई इमान्दारीतापूर्वक मातृभूमीको सेवा गर्न दिक्षिहरुलाई आग्रह गरे। 'तपाईहरुले आफ्नो सीप दक्षतालाई मातृभूमीमै प्रयोग गर्नुहोस्, विकट क्षेत्रका गरिब जनसमुदायको सेवामा लाग्नुहोस्, अनि मात्र तपाईहरुको सीप र दक्षताको कदर र सम्मान हुन्छ।'
स्नातक तह एमबीबीएसमा सबैभन्दा बढी अंक (८१ दशमलव ५७ प्रतिशत) ल्याउने नेपाल मेडिकल कलेज काठमाडौंका मनाली भट्टलाई मन्त्री पोखरेलले भाइस चान्सलर स्वर्णपदक द्धारा सम्मान गरेका थिए।
डाक्टर कोजोका अनुसार विश्व विद्यालयले २०५१ सालदेखि हालसम्म १२ हजार २ सय ६६ जना विद्यार्थी दिक्षित गराइसकेको र एक हजारभन्दा बढीलाई एमबीबीएसतर्फ छात्रावृद्धि प्रदान गरेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !