अयोग्य लडाकुको चित्कार : बारुदसँग खेल्यौँ, ओली-प्रचण्डलाई अँगालो हालेर पड्किन्छाैं
काठमाडौं : बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले अबको दुई महिनाभित्र आफ्ना माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हालेरै आत्मघाती बम पड्काउने चेतावनी दिएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो । जनयुद्ध र गणतन्त्रको लागि आफ्नो जीवनको बलिदान दिएका व्यक्तिहरुको बारेमा सरकार र नेकपाका अध्यक्ष प्रचण्ड बेखबर बनेको भन्दै यस्तो चेतावनी दिन आफूहरु बाध्य भएको उनीहरुले बताए ।
समितिका अध्यक्ष असिम लिम्बु ‘सुनिल’ले भने, ‘हामी कसरी अयोग्य भयौँ ? हामीलाई किन जबरजस्ती अयोग्यको बिल्ला भिराइयो ? हामीले लडेर ल्याएको गणतन्त्र र परिवर्तन योग्य हुने, तर हामी कसरी अयोग्य ?’
सुनिलका अनुसार उनीहरु ४ हजार ९ को संख्यामा छन् । राष्ट्रपति विद्या भण्डारीले १८ करोडको गाडी सुविधा लिन लनगेकोप्रति पनि उनीहरुले आपत्ति जनाउँदै विरोध गरेका थिए ।
उनले थपे, ‘सरकारले हाम्रा साथीहरुले उपचार गर्न नसकेर रुँदै हिँड्नुपरेको छ, गृहमन्त्रीकै सामु विष सेवन गर्नुपरेको छ, यो सुरुवात हो, माग पूरा नगरे अब हामीसँग प्रचण्ड र नेकपाका शीर्ष नेतालाई अँगालो हालेर पड्किनुको विकल्प छैन ।’
कार्यक्रममा समितिका उपाध्यक्ष यज्ञबहादुर कार्की (प्रदीप) ले गणतन्त्रको लागि रगत बगाउनेहरुले विष सेवन गरेर मर्नुपर्ने स्थिति आउनु दुःखद् रहेको गुनासो पोखेका थिए ।
उनले भने, ‘हाम्रो देशमा सरकार छ कि छैन ? यो सरकार कम्युनिस्ट सरकार हो कि दलालहरुको हो ? हामीले ल्याएको परिवर्तनको रातो कार्पेटमा उनीहरु हिँड्ने, हामी सडकमा पीडाका आँशु पोख्नुपर्ने ? शरीरमा भएका गोलीका छर्रा र अंगभग भएको शरिरलाई लिएर बाँच्नको लाथि भीख माग्नुपर्ने ?’
कालिकोट जिल्ला सान्नित्रिवेणी गापाका बहिर्गमित सेनाका कुलप्रसाद भट्टराई (कुसुम) ले गृहमन्त्रीकै कार्यकक्षमा पुगेर अघिल्लो दिन विष सेवन गरेको स्मरण गराउँदै उनीहरुले सरकार प्रति असन्तुष्टि पोखेका हुन् ।
भावुक बनेका कार्कीले रुँदै भने, ‘हामीले कुन गल्ती गर्यौं ? हामी किन अयोग्य भयौँ ? हामीले रगतसँग साटेर ल्याएको गणतन्त्रमा हामीलाई अयोग्याताको बिल्ला भिराएर किन अपमान गरियो ?’
प्रचण्डले कुनैबेला ‘बुर्जुवा शिक्षा पढ्नु पर्दैन सिरानीमा डिग्रीको मार्कसिट आउँछ’ भनेको रुका स्मरण गराउँदै उनले शान्ति सम्झौताका १२ वर्ष पूरा हुँदा आफूहरुको अपमान भएकोमा दुख व्यक्त गरेका थिए ।
कार्यक्रममा समितिका महासचिव राजन थापा ‘सुवास’ले आफूहरु यद्यपि वार्तामा बस्न तयार रहेको बताए । तर सरकारले यसरी अपमान गरिरहँदा आफ्नो धैर्यताको बाँध फुटेर कसैले नसोचेको अवस्था आउने चेतावनी दिए ।
उनले थपे, ‘बारुदसँग खेलेका मानिस हौँ, बन्दुक बनाउन आउँछ, वैद्य, प्रचण्ड, बाबुराम, विप्लव, बादललाई बनाउने हामी नै हौँ, उहाँहरुलाई खसाल्न परे कसरी रसातलमा ल्याउनुपर्छ त्यो कुरा हामीलाई थाहा छ ।’
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले आफ्ना माग पूरा नभए प्रचण्ड र केपी ओलीलाई अँगालो हालेरै विस्फोट गराउने भन्दै चेतावनी दिएका थिए । साथै नेताहरुले नसोचेको हुने भन्दै कडा चेतावनी दिएका छन् ।