‘मदिरा निषेधित क्षेत्र’ घोषणापछि मदिरा नष्ट गरिँदै
मुगु : जिल्लाको छाँयानाथ रारा नगरपालिका ‘मदिरा निषेधित क्षेत्र’ घोषणा भएको एक सातापछि अवैध रुपमा बिक्री वितरण गर्न राखिएको ठूलो परिमाणको घरेलु मदिरा स्थानीय प्रशासनले जफत गरी नष्ट गरेको छ ।
जिल्ला सदरमुकाम गमगढी र आसपासका क्षेत्रबाट बिक्री वितरण गर्न लैजाँदै गर्दा ८५ लिटर तयार पारिएको र ४ सय केजी मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ प्रहरीले शुक्रबार सरोकारवालाको रोहवरमा नष्ट गरेको हो ।
नगरपालिकाले आफ्ना १४ वटै वडामा सबैखाले मदिरा बिक्री वितरण तथा उत्पादनमा रोक लगाउँदै एक साता अघि औपचारिक रुपमा नगरलाई मदिरा निषेधित नगर घोषण गरेको थियो ।
सबै बस्तीमा मदिरा पूर्ण रुपले बिक्री वितरणमा बन्देज भइसकेको र लुकिछिपी अवैध घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्न थालेपछि प्रहरीले मदिरा उत्पादन गर्ने व्यक्तिको तयार पारिएको मदिरा र बनाउन प्रयोग हुने कच्चा प्रदार्थ जफत गर्न थालेको हो ।
मदिराकै कारण दिनहुँ पाँच देखि १० घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता हुन थालेपछि यस्तो कडाइ गरेको प्रहरीले बताएको छ । मदिरा निषेधित भएपछि प्रहरी कार्यालय तथा यसका मातहत रहेका चौकीमा मदिराकै कारण हुने आपराधिक घटना समेत कम भएको प्रहरी कार्यालयले बताएको छ ।
प्रहरीले यस अवधिमा दुईजना सेवनकर्ता र एक उत्पादन गरी बिक्री वितरणमा संलग्न व्यक्तिलाई नगरपालिकाले बनाएको मदिरा निषेधित कार्यविधि अनुसार कारवाही समेत गरिसकेको छ ।