पाहुना आएका ७४ वर्षीय वृद्ध बालिका बलात्कार आरोपमा पक्राउ
राजविराज : इन्सेक सप्तरीले ११ महिनाको अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिका यौन दुव्र्यवहारबाट पीडित भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन शुक्रबार बालिका बलात्कारको आरोपमा पाहुना आएका एक वृद्ध पक्राउ परेका छन्।
घर परिवारका सदस्य धान भित्र्याउन खेत गएको बेला पाहुना आएका सप्तरीको तिरहुत गाउँपालिका ३ का ७४ वर्षीय महावीर सरदार बलात्कार आरोपमा पक्राउ परेका हुन्। घरमा कोही नभएको मौका छोपेर बिहीबार दिउँसो वृद्धले बालिका बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख गरिएको छ।
धान काटेर घर आएकी आमालाई पीडितले घटनाबारे जानकारी गराएपछि पीडितसँगै राजविराज आएकी उनकी आमाले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको अस्पतालले जनाएको छ।
जिल्ला अदालतबाट शुक्रबार पक्राउ पुर्जीको अनुमति लिई आरोपितलाई पक्राउ गरिएको बताउँदै इन्स्पेक्टर हेमन्त भण्डारी क्षेत्रीले थप अनुसन्धान गरी कारबाही अगाडि बढाइएको बताए।