नेपाल आइडलमा उत्कृष्ट सातको सप्तरंगी प्रस्तुति

नेपाल आइडलमा उत्कृष्ट सातको सप्तरंगी प्रस्तुति

काठमाडौं :

आमा र बुवाको अघि त भगवान् झुकिदिन्छ
बुवाआमा छेउमा हुँदा यमराज पनि लुकिदिन्छ।
जुन घरबाट रोएर निस्कन्छन् नि आमाबाबा
कसम त्यो घरमा सुख शान्तिको दियो निभिदिन्छ।

दार्जिलिङमा जन्मेका नेपालीभाषी गायक पुस्पन प्रधान आफ्नो गीत उठाउनुअघि निकै सुमधुर स्वरमा आमाबुवाको सम्मानमा शब्दहरू पस्किरहेका थिए। उनले अलापसँगै आग्रह गरिरहेका थिए, ‘बुवाआमाका लागि अन्य बेलामा केही गर्न नसके पनि मर्ने बेलामा काख दिऊँ।’ आमाबुवाले जति धेरै छोराछोरी भए पनि बाँडेर पालौं भन्दैनन् तर जब उनीहरू नसक्ने हुन्छन्, छोराछोरी बाँडेर पालौं भन्दै झगडा गर्छन् भन्ने तीतो यथार्थ बताउँदै थिए उनी।

‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ बोलको गीत पुस्पनले अमित बरालसँगै संयुक्त रूपमा प्रस्तुत गरे। अमित र पुस्पनको यो प्रस्तुतिले सबैलाई स्तब्ध बनायो। जजहरू न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा उठेर ताली मारिरहेका थिए। दर्शकहरू हुटिङ गरिरहेका थिए।

सामाजिक विसंगतिमा कडा प्रहार गर्ने पुस्पन आफैंमा एउटा परिचय बनेका छन्। उनले अमितको गायकीको खुलेर प्रशंसा गरे। अमितले केहीअगाडि पुस्पनले स्वर दिएको ‘पन्छी’ बोलको गीत गाएर प्रशंसा बटुलेका थिए। पछिल्ला हरेक इपिसोडमा केही न केही विशेष प्रस्तुति दिएर चर्चा पाएको नेपाल आइडल एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको छ। बिहीबारको कार्यक्रममा उत्कृष्ट सात प्रतिस्पर्धीलाई साथ दिन विभिन्न गायकगायिका उपस्थित भएका थिए।

सन्तोष लामा, टीका प्रसाई, राज सिग्देल, सुजिल कर्माचार्य, स्वप्निल शर्मा, रजिना रिमाल, पुस्पन प्रधानजस्ता अहिलेका चर्चित गायकगायिकाले प्रतियोगीलाई गायनमा साथ दिए। धमाकेदार प्रस्तुतिका साथमा हरेक प्रतियोगी आफूलाई अब्बल साबित गर्ने होडमा छन्।
शुक्रबारको नेपाल आइडलको सुरुआत भने ‘नभेटी नभेटी’ बोलको गीतको प्रस्तुतिसँगै भयो। शिव परियार अतिथि गेस्टका रूपमा कार्यक्रममा उपस्थित भए। उनले कार्यक्रममा केही रमाइला किस्साका साथ दुईतीनवटा गीत प्रस्तुत गरेका थिए।
अघिल्लो एपिसोडमा बिरामी भएर उपस्थित हुन नसकेकी नीलिमा थापा बिहीबार ‘मेरैअघि मेरै माया’ बोलको गीतसँगै मञ्चमा देखा परिन्। उनलाई साथ दिने अतिथि कलाकार थिए, सन्तोष लामा। शुक्रबार भने उनले सुमित पाठकसँग ‘नयाँ नयाँ सजाउन है’ बोलको गीत गाएर सबैको मन जितिन्। सबै प्याटर्नका गीत गाउन सक्ने विक्रम बरालले बिहीबारको कार्यक्रममा रक प्रस्तुति दिए। उनलाई साथ दिन रक गायक सुजिल कर्माचार्य मञ्चमा उपस्थित भए। विक्रमले दुवै कार्यक्रममा जज तथा दर्शकको ताली पाए। शुक्रबार ‘तिम्रो मनमा’ बोलको गीत नीलिमा थापासँगै प्रस्तुत गरेका थिए।

‘ऊ जितेर गई या हारेर गई’ नेपाल आइडलको अडिसनमा धेरैपटक प्रस्तुत गरिएको गीत हो। धनगढी अडिसनमा यही गीत बेढंगले गाएर चर्चा पाएका नरेश पातलीले काठमाडाैं आएर ‘आई ह्याभ गलफ्रेन्ड’ बोलको गीत पनि रिलिज गरिसकेका छन्। बिहीबारको नेपाल आइडलमा सुमित पाठकले यही गीत गाएका थिए। उनलाई साथ दिन आएका थिए, राज सिग्देल। राज र सुमितको जोडी कार्यक्रममा अब्बल देखिन्थ्यो।

शुक्रबारको कार्यक्रममा अस्मिता अधिकारी र अमित बरालले ‘मोहनी लाग्ला है’ बोलको गीतमा बेग्लै स्वाद दिए। युगल जोडीका रूपमा उपस्थित भएका उनीहरूले गीत गाउँदै रमाइलो माहोल सिर्जना गरेका थिए। अस्मिताले बिहीबार रेजिना रिमालसँगै ‘पानीको फोकाजस्तै’ बोलको गीत गाएर सबैको वाहवाही कमाएकी थिएन्।

बिहीबारको कार्यक्रममा टीका प्रसाईसँगै दमदार प्रस्तुति दिएका रवि ओडले शुक्रबार भने सेन्टिमेन्टल गीतमा स्वर दिएर जादु चलाए। ‘जति माया लाए पनि’ बोलको गीत उनले शुक्रबार पवन गिरीसँगै प्रस्तुत गरेका थिए। रक गायनमा चर्चा बटुलेका पवनले बिहीबार ‘हिँड्ने मान्छे लड्छ’ बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए। झट्ट हेर्दा लजाउने प्रकृतिका पवन गीतमा भने बोल्ड सुनिन्छन्।

प्रतियोगिता झन्झन् रोमाञ्चक बनिरेको छ। कसलाई प्रशंसा गर्नु कसलाई के भनेर कमेन्ट गर्नु ? गल्ती पनि निकै कम मात्र भेटिन्छ। नेपाल आइडलको पछिल्ला हरेक कार्यक्रम विशेष बनिरहेका छन्। ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो। नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन्।

बाहिरिइन् नीलिमा
आइडलको सुरुदेखि नै आफ्नो स्वरको जादु चलाउन सफल पोखराकी नीलिमा थापा शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन्। उनले भर्खरै कक्षा १२ सकाएकी हुन्। धेरैजनालाई साथी बनाउन नसक्ने रिजर्भ स्वभावकी नीलिमाले सधैंभरि गायनलाई नै साथी बनाएको बताइन्। भन्छिन्, ‘गीत नै मेरो साथी, गीत नै मेरो जिन्दगी।’

नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी हुन्। उनीसँग दुई थरी स्वरको जादु छ। बोल्ने बेलामा केही मोटो स्वर निस्कने नीलिमा जब माइक समाउँछिन्, अनि निस्कन्छ उनीभित्रको स्वरको जादु। सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्। उनले विभिन्न औपचारिक कार्यक्रममा स्टेज प्रस्तुति पनि दिने गरेकी छन्।

शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनिन्। आँखाबाट खस्नखस्न लागेको आँसु लुकाउँदै उनी जबरजस्ती हाँस्न खोजिरहेकी थिइन्। उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.